विराटनगर । ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई विराटनगर ५ स्थित एभरेष्ट स्कूलका कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन्।
आज कञ्चनजंघा बैंकेटमा स्वागत समारोहको आयोजना गर्दै स्वागत गरेका हुन् । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गायन, सायरी वाचनलगायतका कला प्रस्तुत गर्दै मनोरञ्जन गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले हरेक विद्यार्थीले भविष्यका लागि लक्ष्य निर्धारण गर्नुपर्ने बताए। लक्ष्य बिनाको जीवन सार्थक नहुने भन्दै उनले पहिला भविष्यमा के बन्ने त्यो लक्ष्य तय गरेर त्यसको प्राप्तिको लागि अनुशासित भई आत्मविश्वासको साथ मेहनत गर्न सुझाव दिए। लक्ष्य प्राप्तिको बाटोमा अघि बढ्दा कहिलेकाहीँ चुनौती समेत आइपर्ने भन्दै उनले त्यस्ता चुनौतीलाई आत्मविश्वासले सामना गर्नुपर्ने बताए ।
एभरेष्टले स्थापनादेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको सबैलाई थाह भएकै हो भन्दै प्राचार्य पुरीले भने, हामी संख्यामा धेरै बनाउन हैन सिमित विद्यार्थी लिएर विश्वस्तरीय गुणस्तरको शिक्षा दिन चाहन्छौं । त्यसैले विद्यार्थीको सर्वाङ्गीण विकास होस भनेर भौतिक संरचना पनि त्यसै गरि बनाइएको छ ।
प्राचार्य पुरीले पछिल्लो समय प्रबिधिको प्रयोगको नाममा दुरुपयोग गर्ने क्रम समेत बढेको भन्दै एभरेष्टका विद्यार्थीले मोबाईल, ल्यापटप लगायतका ग्याजेटको सदुपयोग मात्र गर्ने विश्वास ब्यक्त गरे। आईसीटी अहिलेको युगमा अपरिहार्य हो प्राचार्य पुरीले भने,दुरुपयोग गर्ने लत लागे यो लागुऔषध जस्तै हो, यसले विद्यार्थीको भविष्य र अभिभावकको सपना समेत चकनाचुर बनाउँछ ।
विद्यालयका अध्यक्ष विनोद ढकालले एसईई पछि भविष्य बनाउन लक्ष्य बनाउने बेला भएको बताए। उनले यो बेलालाई अझ भविष्यका लागी जग बलियो बनाउन वर्तमानमा मेहनत गर्ने बेलाका रूपमा बुझ्नुपर्ने बताए। उनले एभरेष्टका विद्यार्थी जुनसुकै क्षेत्रमा गएपनि अब्बल हुनुपर्ने आफूहरूको चाहना रहेको बताए।
कार्यक्रममा नयाँ विद्यार्थीको प्रतिनिधित्व गर्दै कक्षा ११ का छात्र इशल भट्टराईले एभरेष्टको विद्यार्थी हुन पाउँदा खुशी लागेको बताए।
उनले एभरेष्टको शैक्षिक वातावरण, शिक्षक शिक्षिकाको व्यवहार, भौतिक संरचनालगायतका सबै पक्षले शैक्षिक उन्नयनका लागि उत्प्रेरित गर्ने बताए।