नेपालका सामुदायिक वनको अभ्यास अन्य मुलुकका लागि पनि अनुकरणीय : मुख्यमन्त्री कार्की

<span class='c1'>नेपालका सामुदायिक वनको अभ्यास अन्य मुलुकका</span> <span class='c2'>लागि पनि अनुकरणीय : मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको सामुदायिक वनको अभ्यास अन्य मुलुकका लागि पनि अनुकरणीय रहेको बताउनुभएको छ ।

सामुदायिक वन दिवस २०८१ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उहाँले सामुदायिक वन समूहहरूले वन संरक्षण र विकासमा खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।

कोशी प्रदेशमा ३ हजार ७११ वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत साढे चारलाख हेक्टर राष्ट्रिय वनक्षेत्रको संरक्षण तथा व्यवस्थापन गरिरहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले यसबाट करीब ६ लाख घरघुरीलाई प्रत्यक्ष फाइदा पुगेको उल्लेख गर्नुभयो ।

नेपालमा २२ लाख हेक्टर भन्दा बढी राष्ट्रिय वन क्षेत्र २२ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरू मार्फत व्यवस्थापन हुँदै आएको छ । यसमा करिब ३० लाख घरधुरीहरूको सहभागिता रहेको मुख्यमन्त्री कार्कीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रिय वनक्षेत्रको व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ । यसले प्रदेश र सिंगो देशलाई वन पैदावारमा आत्मनिर्भर बनाउन, काष्ठ तथा गैरकाष्ठजन्य वन पैदावारको आयातलाई प्रतिस्थापन गर्नका साथै वनजन्य उद्यम विकासको माध्यमबाट रोजगारीको सिर्जनासमेत भएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । यसले राष्ट्रिय पुँजी निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको उहाँले उल्लेख गर्नुभएको छ।

समाजवाद उन्मुख आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि सामुदायिक वनको व्यवस्थापन संरचना संरक्षणसँगसँगै उत्पादन, उद्यम तथा रोजगारी उन्मुख हुनुपर्ने उहाँको धारणा छ । यसका लागि समयानुकुल नीतिगत तथा कानुनी संरचना र कार्यक्रम मार्फत यथेष्ठ प्रयास गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले वनको व्यवस्थापन जनसहभागिताबाट गर्ने नीति अनुसार सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा पर्ने वन क्षेत्र २०३० साउन २५ गते समुदायलाई संरक्षण र व्यवस्थापनको जिम्मा दिएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि साउन २५ गते राष्ट्रिय सामुदायिक वन दिवसका रूपमा मनाउने गरिएको छ । यस वर्ष भने ‘सामुदायिक वनको प्रभावकारिता तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ आज दिवस मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्