विराटनगर । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो ।
बसमा चालक, सहचालकसहित ४३ जना थिए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।