नगरपालिकाको हाट बजार राजस्व उठाएर खल्तीमा !

<span class='c1'>नगरपालिकाको हाट बजार राजस्व</span> <span class='c2'>उठाएर खल्तीमा !</span>

अर्जुन थपलिया/नेपाल न्यूज बैंक
सिरहा । गोलबजार नगरपालिकाको तीन वटा हाटबजार ठेक्काबाट उठ्ने रकममा प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारबीच अनुचित साँठगाँठ रहेको अनुमान गरिएको छ ।

हाट बजारबाट उठाइएको राजस्व अपचलन भएको आशंका नगरबासीले गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ प्रारम्भ भएकै दिन साउन १ गतेबाट मानकी निर्माण सेवाका सञ्चालक मोहन यादवले गोलबजार गुदरी हाट, बाख्रा बजार र चोहर्वा पशु हाटबजारमा शुल्क (बट्टी) उठाउन थालेका छन् ।

ठेकेदारले ठेक्का चलन पुर्जी लिनुअघि अनिवार्य रुपमा बैंक ग्यारेण्टी बुझाउनुपर्छ । तर बैंक ग्यारेण्टी नै नबुझाइएको, ठेक्का सम्झौता नभएको तर ठेकेदारले गैर कानूनी रुपमा ठेक्का कार्यान्वयन गरी शुल्क उठाउन थालेको स्थानीयले बताएका छन् । यस सम्बन्धमा मानकी निर्माण सेवाका सञ्चालक मोहन यादवसँग नेपाल न्यूज बैंकले जानकारी लिएको छ । उनले भने,‘हामीले गुन्द्री हाट बजार, बाख्रा बजार र चोहर्वा पशुहाट ठेक्का लिएर गत साउनदेखि नै शुल्क उठाइरहेका छौं । सबै प्रक्रिया अनुसार अघि बढेका छौं ।’

चोहर्वा पशु हाट ३५ लाख, गोलबजार गुद्री हाटबजार २७ लाख र बाख्रा बजार २७ लाखमा मानकी निर्माण सेवाले चालु आर्थिक वर्षको लागि ठेक्का सकारेको थियो । सञ्चालक यादवले भने छिट्टै बैंक ग्यारेण्टी बुझाउने जानकारी दिए । गोलबजार नगरपालिकाका राजस्व शाखा हेर्ने कर्मचारी रामवृक्ष महतो भन्छन्,‘बैंक ग्यारेण्टी बुझाउन नसकेको कारण ठेक्का सम्झौता भएन । सम्झौता नभएसम्म चलान पुर्जी दिन मिल्दैन । असारमा बैंकले बैंक ग्यारेण्टी जारी गरेन भनियो । साउनभरीमा अडिट गराएर बैंक ग्यारेण्टी बुझाउने शर्त थियो । भदौको पहिलो साता बित्दासम्म बैंक ग्यारेण्टी बुझाइएको छैन । मेयर र प्रमुख प्रशासकीय अधिकृतको तजवीजमा केही रकम किस्ता नगरपालिकाको खातामा जम्मा गरेर ठेकेदारले हाटबजार शुल्क उठाइरहेका छन् ।’

नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन्,‘प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको यसमा कमजोरी छ । उनले नियतवश र आर्थिक अपचलन गर्ने तानावाना बुनेर यस्तो प्रकृया अपनाएका हुन् । बैंक ग्यारेण्टी नलिइ, सम्झौता नगरी र चलान पुर्जी समेत नलिई कसरी ठेक्का कार्यान्वयन गरियो ? कानून अनुसार त मिल्दै मिल्दैन । म चुनौति दिन चाहन्छु, ल कुन कानुनमा टेकेर ठेक्का कार्यान्वयन गराइएको हो प्रष्ट पार्नुपर्छ ।’नेता सिंह भन्छन्,‘यसमा लामो र गहिरो षडयन्त्र छ । ठेकेदारले रकम श्रीधर केसीलाई बुझाउँछन् । नगरपालिकाको खातामा थोरै जम्मा हुन्छ । धेरजसो राजस्व अपचलन हुन्छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतको खल्ती भरिन्छ ।’

नेता सिंहले भने,‘आर्थिक वर्ष २०७५।०७६ र २०७६।०७७ मा पनि उनले गोलबजार हाटबजार ठेक्का लगाए तर सम्झौता गरेनन् । चलन पुर्जी दिएनन् । दुई वर्षसम्म हाट बजारबाट उठेको राजस्व एक करोड ५२ लाख अपचलन गरियो । नगरपालिकाको खातामा जम्मा गरिएन । रहक हिनामिना गरियो । अख्तियारमा उजुरी परेको छ र छानविनकै क्रममा छ । त्यही घटनाको पुनरावृत्ति गरिएको छ ।’ ‘पुराना ठेकेदार भन्छन् हामीसँग सम्झौता भएको छैन, चलन पुर्जी दिएको छैन हामी रकम तिर्दैनौ । कर्मचारी र जनप्रतिनिधि भन्छन् ठेकेदारले रकम बुझाएन र असुल उपर गर्न सकिएन । नगरपालिकाको १ करोड ५२ लाख राजस्व गुमेको छ,’ उनले अगाडि भने ।

ठेक्कामै विषयमा नेपाली कांग्रेसका नेता तथा अर्थशास्त्री राजकुमार सिंह भन्छन् ‘बैंक ग्यारेण्टी नराखी उधारोमा ठेक्का कार्यान्वयन गर्ने अधिकार कुनै आर्थिक कानूनले दिएको छैन । सम्झौता नगरी तथा चलन पुर्जी नलिई ठेकेदारले हाटबजारमा कदम राख्नै पाउँदैन । ठेकेदारले बैंक ग्यारेण्टी ल्याउन नसक्दा ठेक्का रद्द गरी अर्को ठेकेदारसँग सम्झौता गरिनु पथ्र्यो । सरकारी काम उधारोमा हुँदैन । अब ती ठेकेदारले म सम्झौता गर्दिन भन्यो भने के हुन्छ ? बैंक ग्यारेण्टी ल्याउनै सकेनन् भने के हुन्छ ? अहिलेसम्म उठाएको शुल्क ठेक्काबाट मान्ने कि अमानतबाट ? यसरी गैरकाकुनी रुपमा ठेक्का चलन चलाउनुको पछाडि दुर्नियत देखिन्छ ।’ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियुका अध्यक्ष तथा युवा नेता सुरेश यादव भन्छन्, ‘हाट बजारबाट उठती रकम हिनामिना गर्ने र बाँडेर खाने प्रपञ्च गरिएको छ । अहिले ठेकेदारले केही रकम नगरपालिकामा बुझाएका छन् । पछि रकम बुझाए पनि खातामा जम्मा गरिंदैन । अमानतमा उठाएको र थोरै रकम उठेको देखाइन्छ । किनकि ठेक्का सम्झौता भएकै छैन । चलन पुर्जी दिएकै छैन,’ यादव थप्छन्,‘बैंक ग्यारेण्टी भए पो ठेकेदारलाई नगरपालिकाले असुल गर्नसक्छ । अन्तिममा ठेकेदारले बुढी औंला देखाइदिन्छ । नगरपालिकाको राजस्व व्यक्तिको आम्दानी बन्न पुग्छ,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत केसीको कुसाग्र दिमागबाट उब्जिएको भ्रष्टाचारी योजना भएकाले गोलबजार नगरबासी अब धेरै दिन मौन रहन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्