अर्थोडक्स चियाको बजारीकरण र संस्कृतिका लागि नेपाल टी च्यालेञ्ज हुँदै

<span class='c1'>अर्थोडक्स चियाको बजारीकरण र संस्कृतिका</span> <span class='c2'>लागि नेपाल टी च्यालेञ्ज हुँदै</span>

काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चियाको बजारीकरण र स्वच्छ प्रतिस्पर्धाका लागि काठमाडौं चिया प्रतिस्पधा अर्थात ‘नेपाल टी च्यालेञ्ज २०२४’आयोजना हुँदैछ ।

काठमाडौं ठमेलको छाया कम्लेक्समा भदौ ११ गते उक्त प्रतिस्पर्धा हुन लागेको हो ।

चिया उद्यम क्षेत्रमा क्रियाशील युवाहरुको संस्था टि–स्टेसन इन्कको आयोजनामा हुन लागेको प्रतिस्पर्धामा देशभरका चिया उत्पादक कम्पनी एवम कारखानाहरुले भाग लिने आयोजक संस्थाका अध्यक्ष प्रज्वल प्रधानले जानकारी दिए । आन्तरिक र बाह्य बजारमा नेपाली चियाको विश्वसनीयता वृद्धि गर्न च्यालेन्जको आयोजना गरिएको उनले बताए ।

‘अर्थोडक्स चियाको महत्व र चिया संस्कृतिबारे नेपालीहरुमै प्रशस्त ज्ञान छैन् । बजारीकरण र गुणस्तरका बारेमा सरकारले पनि चासो दिइरहेको छैन । चिया क्षेत्रमा लागेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश जनस्तरसम्म नपुग्दा विदेश पलायन बढ्दो छ । त्यसैले अर्थोडक्स चियाको उत्पादक, क्रेता, प्याकेजर र चिया पारखीलाई एउटै थलोमा ल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको हो,’ अध्यक्ष प्रधानले भने ।

च्यालेन्जमा कृषि मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सहकार्य गर्ने छन्। अध्यक्ष प्रधानले भने, ‘काठमाडौंमा नेपाल चिया च्यालेन्ज २०२४ को घोषणा गर्न र स्वागत गर्न पाउँदा हामी उत्साहित छौं।’कार्यक्रममा उत्पादकका रूपमा प्रतियोगिताका लागि आफ्ना चियाका नमुनाहरू प्रदर्शन गर्ने र एकै समयमा आफ्ना चियाको लिलामी भएको हेर्ने अवसर उद्यमीहरूले प्राप्त गर्नेछन्। च्यालेन्जमा चियाका विज्ञहरूले चियाबारेमा महत्त्वपूर्ण सुझावहरू प्रदान गर्ने छन्।

कार्यक्रममा होटल व्यवसायी, क्याफे, खुद्रा विक्रेताहरू, चिया पारखीसँग चिया उद्यमी र व्यवसायीको भेटघाट र अन्तरक्रियाको अवसर प्राप्त हुने आयोजकले जनाएको छ। च्यालेन्जले चिया मूल्य शृंखलाको वृद्धि गर्ने आयोजकको दाबी छ। टी स्टेशनले चार वर्षअघि इलाममा इलाम टी च्यालेन्ज २०२० आयोजना गरेको थियो। आयोजकका अनुसार च्यालेन्ज २०२४ ले काठमाडौंका मानिसको चासो आकर्षित गर्न, चियालाई मुख्य पेयको रूपमा बुझ्नका लागि बहुआयामिक अवसर प्रदान गर्नेछ।

प्रतिस्पर्धामा मुख्य गरी दुई वटा विधा निर्धारण गरिएको छ। साधारण अर्थोडक्स चिया र विशिष्ट अर्थोडक्स चिया रहने छन्। यी दुई विधाका चार वटा चियाका प्रकारमा वाईट टि, ग्रिन टि, ब्ल्याक टि र ओलङ टि बिच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। प्रतिस्पर्धामा सामेल सबै चियालाई विभिन्न देशबाट निमन्त्रणा गरिएका निर्णायकको मण्डलबाट स्वाद परीक्षण गरेर मूल्याङ्कन गरिनेछ। निर्णायक मण्डलबाट एक जना निर्णायकलाई दुवै विधाका चार प्रकारका चिया मध्ये कुनै एक प्रकारको चियाको मूल्याङ्कन गर्न दिइनेछ। तोकिएका सबै विधाका विजेता एवं उपविजेतालाई आधिकारिक निकायका अधिकारीले स्वीकृत गरेको प्रमाणपत्र र पुरस्कार उपलब्ध गराइने आयोजकले जनाएको छ। विजेता हुने चियालाई अक्सनको लागि राखिने भएको छ।

नेपाली चियाको आन्तरिक बजार तथा प्रतिव्यक्ति उपभोग वार्षिक ११ प्रतिशतले वृद्धि भइरहेको देखिन्छ। मार्केट रिसर्ज डटकमको सर्भेअनुसार सन् २०२५ सम्ममा नेपालमा चिया उपभोगको वार्षिक दर ५ देखि ८ प्रतिशतले ओरालो लाग्ने तथ्य बाहिर आएको छ। टि च्यालेन्जको आयोजकका रुपमा कम्पनीका १४ जना युवा उद्यमी क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्