छोरीको ‘न्यायिक मृत्यु’ घोषणा गराएर बाबु बसे किरियामा

<span class='c1'>छोरीको ‘न्यायिक मृत्यु’ घोषणा</span> <span class='c2'>गराएर बाबु बसे किरियामा</span>

विराटनगर । छोरी बेपत्ता भएको २२ वर्षपछि परिवारले न्यायिक मृत्यु घोषणा गराएर काजकिरिया थालेका छन् । काजकिरियामा बस्नु अगाडी कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको थियो । मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडा २०५९ सला भदौ १७ गतेदेखि वेपत्ता छिन् । वेपत्ता भएको दिनलाई नै आधार बनाएर गत भदौ १७ गते उनको दाहसंस्कार गरिएको थियो । त्यसपछि ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका हुन् ।

जनकलालले आफ्नी छोरी लक्ष्मीकोे न्यायिक मृत्यु घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते लक्ष्मी वेपत्ता भएको दिन २०५९ भदौ १७ गतेलाई आधार मानेर न्यायिक मृतयुको घोषणा गरिदिएको थियो ।
तत्कालिन समयमा माओवादी सशस्त्र द्वन्दका क्रममा उनलाई शाही नेपाली सेनाले पक्राउ गरेर वेपत्ता बनाएको थियो । त्यो दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएपछि वडा कार्यालयमा मृत्यु दर्ता समेत गरिएको छ । पीडामा रहेको परिवारका सदस्य प्रेम खतिवडाका अनुसार दिदी फर्कने आसा सकिएपछि अन्तिम दाहसंस्कार गर्नका लागि अदालतमा निवेदन दिइएको हो ।

लक्ष्मी खतिवडा २०५८ साल मंसिरमा माओवादी जनयुद्धमा पूर्णकालिन कार्यकर्ता भएकी थिइन् । युद्धकै क्रममा उनलाई २०५९ भदौ १७ गते सुनसरी खनारको नहर पूर्वको सर्वसाधरणको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
पक्राउ परेको १५ दिनपछि परिवारले जानकारी पाएका थिए । त्यसपछि उनी बसेको सेल्टरमा आएर सोधखोज गर्दा सेनाले लगेको जानकारी पाएका थिए । प्रेमका अनुसार त्यस बखत सेनाको ब्यारेकमा पुगेर बुझ्दा कहाँ लगियो भन्ने पत्ता लगाउन सकिएको थिएन । त्यहिंबाट लक्ष्मी अहिलेसम्म सम्पर्कमा छैनन् ।

सत्यनिरुपण तथा वेपत्ता छानविन आयोग सम्बन्धी ऐन पनि जारी भइसकेको छ । उक्त ऐन जारी भएपछि उनको अवस्थाबारे केही जानकारी आउँथ्यो कि भन्ने आसा समेत परिवारमा धेरै छैन ।
२०३६ साल पुस २२ गते भोजपुरको खार्तम्छास्थित सानो दिङ्लामा जन्मिएकी उनी २०४८ सालमा परिवारसँगै सुनसरीको बौकामा बसाइँसरी आएकी थिइन् । त्यहाँबाट २०५१ सालमा साविक हसन्दह गाविस १ चिलाझारमा बसोबास गरिरहेका खतिवडा २०५८ साल मंसिरमा जनयुद्धमा हिंडेकी परिवारको भनाई छ । उनका ८३ वर्षका वृद्ध बुबा र ७८ वर्षीय आमा रत्नकुमारीका साथै पाँच दाजुभाई र दुईजना दिदीबिहीनी रहेका छन् । उनको अन्तिम संस्कार चिलाझार पथरीमै गरिएको हो ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बाह्र वर्ष देखि वेपत्ता भएका नागरिकको न्यायिक मृत्यु घोषणा गर्न अदालतमा परिवारले निवेदन दिने गरेका छन् । अदालतले सबै प्रमाणहरुको अध्ययन गरेपछि न्यायिक मृत्यु घोषणा गर्दै आएको छ । यस्तो प्रकृतिको अदालती काम प्रायः भईरहने प्रक्रियामा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्