कोशी प्रदेशमा बाढी पहिरोमा ११ जनाको मृत्यु, कहाँ कहाँ के के क्षति गर्यो ?

<span class='c1'>कोशी प्रदेशमा बाढी पहिरोमा ११ जनाको मृत्यु,</span> <span class='c2'>कहाँ कहाँ के के क्षति गर्यो ?</span>

विराटनगर असोज १३ ,

देशभर नै बाढी पहिरोले बितण्डा मचाईरहेको अवस्थामा कोशी प्रदेशमा पनि बाढी र पहिरोले धनजनको क्षति गरेको छ । हालसम्म कोशीमा ११ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृत्यु भएको छ। धनकुटा र सोलुखुम्बुमा २/२ तथा इलाम र उदयपुरमा १/१ जनाको मृत्यु भएको एसएसपी दाहालले बताए।

उनका अनुसार फिदिम नगरपालिका–४ चिसापानीमा आदिवासी जनजाति महासंघको ट्रस्ट भत्किँदा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ। फिदिम–१२ घर भएकी सपना फिदिम–४ मा डेरा बस्थिन्। फिदिम–१ साङ्लेबोटेमा पहिरोले पुरिएर ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ। प्रहरीका अनुसार उनी राजकुमार नेम्वाङको घरमा डेरा बसेर फुरुङ्गा हाइड्रोपावरमा काम गर्थे।

फिदिम–८ भोटे गाउँमा पहिरोले पुरिएर ८२ वर्षीय पसेम्बा शेर्पाको मृत्यु भएको छ। आफ्नै घरनजिकको धारामा पानी लिन जाने क्रममा माथिबाट झरेको पहिरोले उनको मृत्यु भएको प्रहरीले जनाएको छ। फिदिम–२ मजिटेमा पहिरोले घर पुरिँदा ३८ वर्षीया रन्जना राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उनका छोरी र बुहारीको मृत्यु भएको छ। वडाध्यक्ष होमबहादुर मगरका अनुसार पहिरोमा परेर टेकबहादुरकी ३० वर्षीया छोरी कविता मगर र ४१ वर्षिया बुहारी रुपा मगरको मृत्यु भएको हो।

त्यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका–५ की ३२ वर्षीया आशा तामाङ र उनी आमा ५० वर्षीया रामुकुमारी तामाङको मृत्यु भएको छ। पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। उदयपुरको रौतामाई गाउँपालिका– १ मा बाढीले बगाएर १५ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार खेतबाट घाँस काटेर फर्किने क्रममा बाढीले बगाउँदा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार इलामको माई नगरपालिका–८ सेता खोलाले बगाएर ६८ वर्षीय मइतबहादुर लिम्बू्को मृत्यु भएको छ। खोला तर्ने क्रममा बगाएर घाइते भएका भएका उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएका जानकारी एसएसपी दाहालले दिए।

यता बाढी र पहिरोमा परेर सबैभन्दा धेरै पाँचथरमा ४ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा फिदिम–१ का ५१ वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, स्थानीय ५५ वर्षीय धनकुमार तुम्वापो र २१ वर्षीया सरस्वता तुम्वापो रहेका छन्।

फिदिम–१ का राजकुमार नेम्वाङको घरमा डेरा लिएर बस्ने उनीहरू सबै जनाले फुरुङ्गा हाइड्रोपावरमा काम गर्दै आएको प्रहरीले जनाएको छ। पाँचथरकै फालेलुङ गाउँपालिका–४ का अविनारायण राईको घर तारे खोलाले बगाउँदा उनकी पत्नी ३६ वर्षीया कमला राई बेपत्ता भएकी छन्।

झापा गौरीगन्ज गाउँपालिका–२ सुकुम्बासी टोलका ५५ वर्षीय केनालाल राजवंशी कृष्णे खोलाले बगाएर बेपत्ता भएका छन्। कनचकवल गाउँपालिका–१ की १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएर बेपत्ता बनाएको छ। कमल गाउँपालिका–१ का ३५ वर्षीय टीकाराम चौधरी माछा मार्ने क्रममा कृष्णे खोलामा डुबेर बेपत्ता भएका छन्।

मोरङ रतुवाईमाई नगरपालिका–७ की ७२ वर्षीया डुरोदेवी राजवंशी रतुवा खोलाले बगाएर २ दिनदेखि बेपत्ता छन्। बाढी र पहिरोमा परेर ४ जना घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। धनकुटामा २ तथा ओखलढुंगा र पाँचथरमा १/१ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्