सडक होइन सरकारसँग आक्रोशित छन् लाइनमा बसेका यात्रु

<span class='c1'>सडक होइन सरकारसँग आक्रोशित</span> <span class='c2'>छन् लाइनमा बसेका यात्रु</span>

आकांक्षा धामी / नेपाल न्यूज बैंक
काठमाडौं । दशैं नजिकिएसँगै उपत्यका छाड्नेहरुको संख्या क्रमशः बढ्दैछ । सडक सहज भएका गन्तब्यसम्म पुग्न मानिसहरुले बसको टिकट बुकिङ गरेका छन् । बिहीबारदेखि आएको अविरल बर्षाअघि नै दशैंमा गाउँ जानेहरुले टिकट बुकिङ गरेपनि सडक पूर्ण रुपमा संचालनमा नआउँदा यात्रुहरु अन्योलमा छन् ।

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन यात्रुको भीड भने पातलिएको छैन । चाँडै सडकको अवरोध हट्ला र सहजै गाउँ फर्किने अपेक्षा लिएकाहरु काउन्टर अगाडि लाइन लागेका छन् । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको विर्तामोड, ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड छ ।

सरकारले अनलाइनमार्फत टिकट बुक गर्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि लाइनमा बसेर टिकट काटीरहेका भेटिन्छन् । हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै १० लाख यात्रुले टिकट बुकिङ गरिसकेको व्यवसायीहरुको भनाइ छ । काठमाडौंको गंगबु बसपार्कमा टिकटको लागि समस्या नभए पनि मौसम प्रतिकुलका कारण सडक अवरुद्द हुँदा यात्रुहरु मर्कामा परेका छन् । लगातार तीन दिन अविरल वर्षा काठमाडौं जोड्ने सडकहरु अवरुद्ध हुँदा पूर्व र पश्चिम जाने यात्रुहरु बढी मर्कामा परेका हुन् ।

तर अविरल बर्षा सकिएको पछिल्लो तीनदिनसम्म गाडी गुड्न नसक्दा यात्रुहरुमा अक्रोशित देखिन्छन् । सडक सुचारु गर्न सरकारले पर्याप्त काम नगरेकोप्रति यात्रुहरु आक्रोशित बनेका हुन् । यात्रुहरुले फरक फरक गुनासो गरिरहेका छन् । कतिपय यात्रु दशैंको लागि भनेर विदेशबाट नेपाल आएका छन् । काठमाडौंबाट गाउँ जान नपाएर चिन्तामा रहेका उनी सरकारप्रति बढी रुष्ट छन् । नेपालको सडक र सरकारको कार्यशैली देखेर आफू दिक्क भएको नयाँ बसपार्कमा भेटिएका बिष्णु पराजुलीको भनाइ छ ।‘सडक अवरुद्द छ । विदेशबाट आएको तीन दिन भइसक्यो । सडक अहिलेसम्म खुल्न सकिरहेको छैन । धेरैजना काठमाडौंमै अड्किएर बस्दा दिक्क भइसक्यो, खर्च बढिरहेको छ । यातायात व्यवसायी महासंघले पनि गाडी पठाउन सकेको भए सजिलो हुन्थ्यो,’ पराजुलीले भने ।

पराजुलीलाई जस्तै अन्य यात्रुहरुलाई पनि दशैंको समयमा घर पुग्न उत्तिकै हतार छ । तर यस्तै पीडा सुनाउँदै नयाँ बसपार्क क्षेत्रमै भेटिएका यात्रु रमेश क्षेत्रीले भने,‘उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका प्रकाशमान सिंह काठमाडौंकै जन प्रतिनिधि हुन । तर बसपार्कमा सयौं मानिसहरु मान्छे भोकै छन् । कतिले पानी समेत पिउन पैसा नभएको अवस्था छ तर सिंह जस्ता जनप्रतिनिधिहरुको कुनै सहयोग र सद्भाव छैन ।’उनले भने, ‘म विदेशबाट आएको हुँ । म सँग त पैसा होला तर तीन दिनसम्म टिकटको लागि बसपार्कमै भोकै बसेका धेरै जना छन् । गाडी होल्ड हुँदा यहीँ काठमाडौं क्षेत्रका जनप्रतिनिधिहरुले यात्रुहरुप्रति ध्यान दिनुपर्ने होइन र ?’

क्षेत्रीले काठमाडौं महानगरका प्रमुख बालेन शाहले पनि बसपार्कतिर आफ्नो ध्यान लगाउन आग्रह गरे । उनले सडक खुलाउने प्रयासमा सरकारले नेपाल प्रहरी, सेना र शसस्त्रहरुलाई दुःख दिइरहेको तर आवश्यक बजेट एवम इक्युमेन्टहरु उपलब्ध नगराएकोमा आक्रोश व्यक्त गरे ।
बस चालक राकेश भट्टले पनि चार दिनसम्म आफ्नो गाडी उपत्यका भन्दा बाहिर जान नसक्दा खर्च धान्नै मुस्किल पर्ने बताए । उनले विपतमा सरकारले सहयोग नगर्ने हो भने यस्तो सरकारको आवश्यक नभएको बताए । उनले भने, ‘हप्ता दिन हुनलाग्यो यता बसेको, धेरै आपत आइलागिसक्यो । विपतको समयमा प्रधानमन्त्री अमेरिका घुम्न मिल्छ ? जनताको केही चासो गर्दैनन् । सरकारलाई पहिले नै जानकारी भइसकेको थियो बाढी र पहिरोमा परेर मान्छेहरु अलपत्र छन् भनेर ।तर सरकार कानमा तेल हालेर सुत्यो । फसेका यात्रुहरुलाई उद्दार गर्न कुनै सरकारी निकाय पुगेन । मरिसकेपछि लासमात्र गन्नका लागि सरकार उद्दारको नाटक गर्न दुर्घटनाग्रस्त क्षेत्रमा पुग्यो ।’

साथै उनले गरिवहरुको लागि सरकारले केही गर्न नसकेको बताए । उनले जनताको समस्यामा नपुग्ने जनप्रतिनिधिहरु बस किन राती चलाएको भनेर उल्टै बस व्यवसायीहरुलाई थर्काएको उनले गुनासो पोखे । उनले राती बस नचालाउने सरकारको निर्णय राम्रो भएपनि पहलकदमी नगरी सञ्चालनमा रोक लगाउनु उचित नहुने बताए । उनले दुईवटा पार्टी मिलेर सरकार बनाउने तर पहलकदमी गरेर निर्णय लिन नसक्ने सरकार कसैलाई नचाहेको बताए ।
अहिलेको सरकारप्रति सबैको गुनासो त छँदै तर युवापुस्ताले सबैभन्दा बढी गुनासो गरिरहेको अवस्था छ । यस्तै अर्का यात्रु अनिल गुप्ताले सरकारले पहल गरेको भए धेरै दिनसम्म यात्रु यसरी अत्रपत्र नपर्ने बताए । उनले सरकारले कुनै हिसाबबाट पनि पहल गरेको भए यात्रुहरु आफ्नो आफ्नो घर पुगिसक्ने बताए।

सरकारले घुम्नमा एक करोड खर्च गर्नसक्ने तर सडक सञ्जालको लागि एउटा डोजर किन्न नसक्नु लाजमर्दो भएको उनले बताए । सरकारसँग गुनासो भएपनि यात्रुहरुलाई टिकटमा समस्या नभएको उनीहरुको भनाइ छ । तर पहाडी जिल्लाहरुमा जानको लागि एउटा मात्र रुट भएकाले हुम्ला र दार्चुला जाने यात्रुहरु थोरै समस्यामा परेको तुलसीपुर यातायात प्राइभेट लिमिटडका काठमाडौं साखा प्रमुख रमेश गौतमले बताए । उनले यात्रुहरुले दुःख नपाउन भन्नकै लागि मोबाइल तथा अनलाइनबाट टिकट खुला गरिएको समेत बताए ।

उनले बसमा तोकिएको भाडा भन्दा कसैले बढी लिएको पाइए कारवाही गरिने बताए । उनले गाडी सडक अवरुद्द हुँदा कुनै यात्रु विशेष कारणले जान सक्ने अवस्था नभए पैसा समेत फिर्ता गरिने बताए ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर सडकको अवस्था ठिक नभएसम्म गाडी गुडाउन नसकिने बताउँछन् । बुकिङ खुलाएको पहिलो दिन यात्रुहरुको भीड अत्याधिक भएपनि हाल भीड घट्दै गएको बताउँछन् । ‘बाटो नखुलिकन बुकिङ मात्र गरेर भएन । जब राजमार्ग सुचारु हुन आउँछ त्यसपछि टिकटको विषय सहजीकरण गर्दै जाने छौं,’ उनले भने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग घटस्थापनासम्म सडकलाई ठिक बनाउने र त्यसपछि धमाधम यात्रुलाई सहज सेवा दिने सहमति भएको भएपनि अब त्यो सम्ंभव नभएको उनले बताए ।

‘पहिरो खुलाएपछि पनि ढुक्कले यात्रा गरिहाल्नुपर्ने अवस्था छैन । अझै घाम लागेपछि सुक्खा पहिरो त जान्छ जान्छ । तर, सरकारको संयन्त्र र सडकमा काम गरिरहेकाहरुसँग भएको स्रोत र साधनलाई पुरै परिचालन हुने गरेर रातदिन नभनी दशैंभरी परिचालन गर्नुपर्ने स्थिति छ,’ अध्यक्ष स्वाँरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्