विराटनगरको सडक सौन्दर्यकरणका लागि एसवीआई बैंकको सहयोग

<span class='c1'>विराटनगरको सडक सौन्दर्यकरणका लागि</span> <span class='c2'>एसवीआई बैंकको सहयोग</span>

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि एसवीआई बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।

बैंकले बुधबार महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । कार्यकक्षमै पुगेर बैंकका प्रदेश प्रमुख रविन घिमिरे, प्रदेश उपप्रमुख अमित कोइराला र विराटनगर शाखा प्रमुख सुदीपकुमार अर्यालले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेको हो । हालसम्म २० लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।

यसअघि ११ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट १८ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए । महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी-रानी सडक सौन्दर्यकरणमा सहयोग पुर्‍याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि महेन्द्र चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहनुभएका पुनम दाहालले जानकारी दिनुभयो ।

मेयर नागेश कोइरालाले विराटनगरको सौन्दर्यकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूले पुर्‍याइरहेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ । विराटनगर बनाउने सबैको दायित्व भएको भन्दै मेयर कोइरालाले विराटनगरलाई सुन्दर बनाउन बैंकहरूले खेलेको भूमिकाप्रति प्रशंसा व्यक्त गर्नुभयो । ‘महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग प्राप्त भइरहेको छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘महानगरले अन्य परियोजनाहरू पनि यस्तै साझेदारीमा सञ्चालनको योजना बनाएको छ ।’ ५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी-रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।

महानगरले गठन गरेको आर्थिक संकलन समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको छ । परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले हाल सौन्दर्यकरण अभियानलाई तीव्रता दिइएको छ । हाल महेन्द्रचोकदेखि रोडशेषसम्मको डिभाइडरमा तारजाली लगाउने कार्य धमाधम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्