स्वदेशमा दशैँ,परदेशमा ड्युटी

<span class='c1'>स्वदेशमा दशैँ,परदेशमा</span> <span class='c2'>ड्युटी</span>

-चन्द्र पौडेल
कमाउन परदेश गएकाहरू सकेसम्म चाडबाडका बेला स्वदेश फर्किने प्रयास गर्छन् । तर सोचेजस्तो हुँदैन ।

कतिलाई कम्पनीले बिदा दिँदैन त कतिपयलाई चाडबाडकै बेलामा विदेश उड्नु पर्ने बाध्यता पनि हुन्छ । कतिपय श्रमिक भने आफ्नै समस्याले गर्दा मनले चाहे पनि स्वदेश फर्कन सक्दैनन् । यस्तो अवस्थामा आफू स्वदेश हुँदा मनाएको दशैँसम्झँदै मन बुझाउन पर्ने हुन्छ ।

नेपालीहरुको महान चाड वडा दशैंको रौनकता सबैतिर छाएको छ । घरदेखि टाढा–टाढा गएकाहरु समेत दशैमा घर फर्किएर आफन्त, साथीभाई तथा परिवारसँग रमाईलो गरिरहेका छन् । तर परदेशमा भने टिकाकै दिन ड्युटी परेकाले मन अमिलो पार्दै फेसबुकका भित्ताहरुमा अरुका फोटो हेरेर चित्त बुझाईरहेका छन्।

चाडबाड सम्झँदा आँसु आउँछ
राजु पन्त,मलेसिया ।
मेरो नेपालको घर काभ्रे हो । सबैभन्दा पहिला त सबै जनालाई बडादशैँको शुभकामना । विदेशमा नेपालमा जस्तो दशैँ हुँदैन । चाडबाड मनाउन गाउँ जान्छु भनेर कोसिस गर्दा गर्दै पनि सधैँ सम्भव नहुने रहेछ । नेपालमा छुट्टै रमाइलो हुन्छ । साथीभाइसँग भेट्न, परिवारसँग बस्ने । साथीभाइहरू कहाँ कहाँबाट आउनुभएको हुन्छ । उनी सम्झन्छन पछिल्लो पटक परिवारसँग दशै २०७० सालमा मनाएका रहेछन, त्यसयता बैदेशिक रोजगारका क्रममा फेरि अहिले सम्म दशैमा परिवारसँग बसेर दशै मनाउन पाएका छैन् ।

सबैजसोलाई भेट्ने यही मौका पनि हो । तर के गर्नु आफ्नो दुःख टार्न परदेशी हुनै पर्‍यो । देशमा हुँदाको रमाइलो सम्झँदा त अहिले परदेशमा आशु नै झर्छ । चाडबाडका बेलामा घर परिवारको सम्झनाले असाध्यै सताउँछ ।
परिवारबाट टाढा भएर परदेशमा काम गर्दा अलिअलि पैसा कमाए पनि मन भने परिवारको साथमा हुँदाजस्तो खुसी हुँदैन । पलपल कठिन हुन्छ । दशैँमात घर आउन सकिनँ । यसपटक भने दशैमा जान नमिले पनि तिहारमा भने अवसर मिलेको र जाने तयारिमा रहेको बताए ।

निधार भरी लगाइने टीकाको खुब याद आउँछ
योगेन्द्र दाहाल, साउदी ।
देशमा दशैँको रौनक सुरु भएपछि मलाई परदेशमा रहेर निधार भरी लगाएको टीकाको याद आउँछ । स्वदेशमा मनाइने दशैँ भनेको परिवारको खुसी हो । परदेश लाग्नुभन्दा पहिला मानेको दशैँ सम्झने हो भने आँखा रसाई हाल्छन् ।

मरुभूमिमा बस्ने हाम्रो आफ्नै बाध्यता हुँदो रहेछ । तर गाउँमा छदा जब दशैँ आउँछ तब नवदुर्गा भवानीको पूजा दशमीको दिन सबै जना भेला भएर लगाएको टीका र जमराको स्थान त यहाँ कमाएको हजारले कहाँ लिन सक्छ र । तर घरको चुलो बाल्नकै लागि भए पनि परदेसिनु पर्ने बाध्यता छ । तर यहाँ मैले पसिना बगाउँदा परिवारमा छाएको खुसी हेरेरै चित्त बुझाउँछु ।

दशैँआयो भन्दै खसी ढालेका दिनहरू मनै भरी छ
रमेश पौडेल, साउदी ।
हामी आफ्नो गाउँ ठाउँ छाडेर परदेश रहरले हैन बाध्यताले नै आएको हो । जब देशमा चाडबाड आउँछ तब परदेशमै भए पनि दशैँका सम्झना आँखै भरी मनै भरी नाच्छ ।
दशैँ आयो भन्दै खसी बोका काटेको, जमरा टीका लगाएर गाउँमा ठुलाबडासँग आशीर्वाद लिएको अनि आफूभन्दा सानालाई टीका लगाइदिएर दक्षिणा दिएको त्यो क्षण अहिले सम्झँदा पनि खुब रमाइलो लाग्छ । कान भरी जमरा, निधार भरी टीका लगाएर अब फेरि कहिले गाउँ गाउँ डुल्ने होला । सम्झँदा पनि अत्यास लाग्छ ।

दशैँमा घरमा पाक्ने खानेकुरा सम्झन्छु
अनिता घिमिरे,यूएई ।
हुन त ज्यान यति बेला खाडीको देश यूएईमा छ । यहाँ न दशैँ छ न त कुनै रौनक । तर सामाजिक सञ्जाल हेर्दा मन भने गाउँघरमै पुगेको छ । दशैँमा घर आउन नपाउँदा मन दुखेको छ । तर बाध्यताले सधैँ आफ्नो इच्छा चाहना पूरा हुन नदिने रहेछ ।

परदेश लागेदेखि नै आफूले चाहेको बेलामा घर जान पाएको छैन । त्यसैले पनि जब चाडबाड आउँछ तब गीत सुन्छ । गीतको मिठो धुन र शब्दले पनि गाउँघरमै पुर्‍याउँछ । घरमा दशैँ मनाउँदा डालाभरि सेल रोटी ,अर्सा झिनिया, चीनी रोटी र विभिन्न परिकार पाक्थें ।

साथमा पक्कु लगाएको मासु पनि हुन्थ्यो । खानेकुरा सँगसँगै अर्को महत्त्वपूर्ण कुरा भनेको परिवारसँगै हुनु हो । यहाँ त साथीभाइ यसो मिलेर रमाइलो गरे पनि देशमा भएजस्तो कहाँ हुन्छ र । तर पनि रमाएजस्तो गर्नुबाहेक हामी परदेशीसँग विकल्प नै के हुन्छ र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्