पूर्वीनाकाबाट पर्यटक आगमन बढ्यो

<span class='c1'>पूर्वीनाकाबाट पर्यटक</span> <span class='c2'>आगमन बढ्यो</span>

झापा । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर दुई सय ८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताउनुभयो ।

अक्टुबर महिनामा तेस्रो मुलुकका नागरिकको आगमन बढेर ६ सय तीन पुगेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा आगमन अझ बढ्ने सम्भावना छ । भारत सरकारले कोरोना महामारी सुरु भएदेखि काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीबाट तेस्रो मुलुकका नागरिकलाई आउजाउ गर्न निषेध गर्दै आएको थियो । नेपालको निरन्तर दबाबपछि यही अगस्तदेखि तेस्रो मुलुकका नागरिकको आवतजावतका लागि भारतले नाका खुला गरेको हो ।

भारतको पानीटङ्की नाका हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकमा भूटानीको सङ्ख्या अधिक रहेको छ । विगतमा बङ्गलादेशी नागरिकको लर्को लाग्ने गरेकामा हाल बङ्गलादेशी नागरिकको आगमन नगण्य छ । अध्यागमन अधिकृत भट्टराईका अनुसार सेप्टेम्बर महिनामा नेपाल प्रवेश गरेका दुई सय ८७ जना तेस्रो मुलुकका नागरिकमा भूटानीको सङ्ख्या एक सय ६८ र अमेरिकी ५४ र अस्ट्रेलियन चारजना रहेका छन् ।

यसैगरी, अक्टुबरमा तेस्रो मुलुकबाट नेपाल आएकाको कुल सङ्ख्या ६ सय तीन रहेकामा भूटानी तीन सय ४६, अमेरिकी एक सय ३० र अस्ट्रेलियन २३ जना रहेको भट्टराईले बताउनुभयो । “काँकडभिट्टा नाका भएर आउने तेस्रो मुलुकका नागरिकमध्ये आधाजसो भूटानी नागरिक छन्,” अध्यागमन अधिकृत भट्टराईले भन्नुभयो, “धेरैजसो भूटानी नागरिक धार्मिक तीर्थाटन र थोरैजसो भेटघाटका लागि आउनु हुँदोरहेछ ।”

घुमफिरका लागि आउने भूटानी नागरिकहरुले लुम्बिनी, फर्पिङ र हलेसी जाने बताउने गरेका छन् । भूटानीसहित सार्क मुलुकका नागरिकका लागि काँकडभिट्टा नाकामै ‘अनअराइभल भिसा’ जारी हुने व्यवस्था छभने एक वर्षमा एक खेपमा ३० दिन अवधिसम्मको भिसा निःशुल्क हुने गरेको छ । “सार्क मुलुकका नागरिकका लागि एक भिसा वर्षमा ३० दिनसम्म निःशुल्क भिसा प्रदान गरिने व्यवस्था छ,” भट्टराईले भन्नुभयो, “यो निःशुल्क सुविधाको भूटानी नागरिकले लाभ लिएको देखिन्छ । तीस दिनभन्दा बढी अवधिका लागि भिसा दिनु परेमा प्रत्येक दिनको तीन अमेरिकी डलरका दरले भिसा शुल्क लिने गरिएको छ ।” गैरआवासीय नेपाली नागरिक र शरणार्थीका रुपमा तेस्रो मुलुकमा पुनस्र्थापना भएका भूटानी नागरिकले नेपाल आउनका लागि काँकडभिट्टा नाका प्रयोग गर्न रुचाउने गरेको पाइन्छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्