विराटनगर । झापाको दमक नगरपालिका- ४ की सुमित्रा शर्माका श्रीमान कुटुम दमक बजारमा गाडीको बडी ग्यारेज सञ्चालन गर्छन् । सुमित्राका श्रीमानले‘कुटुम बडी ग्यारेज सञ्चालन गर्न थालेको दुई दशक भयो, आफ्नो ग्यारेज सुरु गर्नुअघि उनी अरुकै ग्यारेजमा काम गर्थे ।
सानो लगानीबाट सुरु गरेको ग्यारेजलाई उनीहरुले विस्तार गरेका छन् । अहिले दमक बजारमा दुई वटा ग्यारेज खोलेका छन् । बजारमा खुलेको दुई वटा ग्यारेजमा आठ जनालाई नियमित रोजगारी दिएका छन् । कुटुम प्राविधिक हुन्, उनी गाडीको काम हेर्छन् । उनकी श्रीमती सुमित्रा ग्यारेजको अरु काम हेर्छिन् । नयाँ ग्यारेजको काम कान्छा छोराले हेरिरहेका छन् । बडी ग्यारेजबाट उनीहरुले राम्रो आर्थिक प्रगति गरेका छन् । व्यवसाय विस्तारसँगै सुमित्राले दमक बजारमा घर बनाएकी छन् ।
सुमित्राको प्रगतिको यात्रामा जीवन विकास लघुवित्त वित्तीय संस्थाले निरन्तर सहयोग गरिरहेको छ । उनी जीवन विकासको सदस्य भएको १६ वर्ष भयो । सदस्य भएदेखि जीवन विकासले ऋण सहयोग गरिरहेको हो । विगतमा घर खर्च धान्नका लागि ग्यारेजसँगै सुमित्राले होटल सञ्चालन गरिन् । घरमा पशुपालन पनि गरिन् । छोराछोरी हुर्किएपछि उनले होटल छाडिन, अहिले उनी घरको कामसँगै ग्यारेजको हिसाबकिताब हेर्छिन् ।
उनको ग्यारेजमा टाढा टाढाबाट गाडी मर्मतका लागि आउँछन् । ‘कुटुम बडी ग्यारेज भन्ने वितिकै फेमस छ, टाढाटाढाबाट गाडी बनाउनका लागि आउनुहुन्छ,’ उनले भनिन् ,‘ हाम्रोमा काम पनि धेरै राम्रो हुन्छ ।’ उनको ग्यारेजमा बडी बनाउनका लागि ठूला गाडी पुग्छन् । उनी गाडी धनीले भनेजस्तै गाडी तयार गरेर दिन्छन् । बडी ग्यारेजलाई थप विस्तार गर्दै लैजाने उनको योजना छ ।
भिडियो हेर्नुहोस् :