इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाका सात वटा बहुवर्षीय विकास योजनाहरूको कार्यान्वयन तीव्र गतिमा अघि बढेको छ । महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार यी योजनाहरूको निर्माण कार्य ५० देखि ६० प्रतिशतसम्म सम्पन्न भइसकेको छ ।
विराटनगर-७ स्थित ऐतिहासिक बिरेन्द्र सभागृहको प्रवलीकरण तथा पुन:निर्माण कार्य सम्पन्न भएको छ । भने सोही वडामा महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्य पनि द्रुत गतिमा अघि बढिरहेको छ ।
वडा नम्बर २ र ७ मा १५ करोड लागतको प्रधानमन्त्री पार्क निर्माणको जिम्मा कला विल्डर्स निर्माण कम्पनीले लिएको छ । हालसम्म यस योजनामा ५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यसैगरी वडा नम्बर १४ मा रहेको रानीपोखरी र मन्ठापोखरी ग्रिन पार्क निर्माणको जिम्मा पनि कला विल्डर्सलाई दिइएको छ। क्रमशः ७ करोड र ६ करोडको लागतमा निर्माण हुने यी दुवै पार्क चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वडा नम्बर २ मा भ्याटसहित ३ करोड ९८ लाख रुपैयाँको लागतमा रात्रिकालीन आरती स्थल निर्माण भइरहेको छ, जसको ६० प्रतिशत काम सकिएको छ ।
त्यसैगरी वडा नम्बर १२ को सम्पन्न बस्ती महानगर आवास योजना र महानगर बहुप्राविधिक शिक्षालय भवन निर्माण कार्य पनि निर्धारित गतिमा अघि बढेको छ। इन्जिनियर श्रेष्ठका अनुसार सबै योजनाहरूको नियमित अनुगमन तथा मूल्यांकन भईरहेको र तोकिएको समयमै सम्पन्न गर्ने गरी काम भईरहेको छ ।