इन्दु साह
विराटनगर । विश्व शौचालय दिवसका अवसरमा संयुक्त राष्ट्र संघले 'शौचालय, शान्तिको लागि ठाउँ' भन्ने नारा अगाडि सारेको छ। तर कोशी प्रदेशको राजधानी विराटनगरमा भने सार्वजनिक शौचालयको गम्भीर अभाव रहेको पाइएको छ।
तीन लाख जनसंख्या रहेको यस महानगरपालिकामा जम्मा ९ वटा मात्र सार्वजनिक शौचालय रहेका छन्। ती मध्ये ट्राफिक चौक, हाटखोला, बसपार्क र पञ्चमुखी चौकस्थित महानगरपालिकाको सिप्लटको माथिल्लो तलामा केही शौचालयहरू रहेका छन्।
यस्तै विष्णुमाया पुस्तकालय, रानी मिल्स एरिया, कोशी प्रयोजेक्टको हटिया क्षेत्र, पुरानो गुद्री, जिल्ला प्रशासन कार्यालय र कोशी अस्पतालमा पनि सार्वजनिक शौचालयहरू छन्। तर यीमध्ये केही शौचालयहरू सीमित प्रयोगकर्ताका लागि मात्र खुला रहेको छ।
शौचालयको अभावमा सर्वसाधारण सडक छेउछाउमै दिसा-पिसाब गर्न बाध्य छन्। यसले सहरको सौन्दर्य र सरसफाईमा नकारात्मक असर पारेको छ। साथै खुला दिसा-पिसाबका कारण संक्रामक रोगहरू फैलने जोखिम पनि बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
विराटनगरका व्यस्त क्षेत्रहरूमा शौचालयको अभाव मुख्य समस्याको रूपमा देखिएको छ। यसबाट विशेषगरी सवारी चालक र यात्रुहरू बढी प्रभावित भएका छन्। महानगरपालिकाले यस समस्यालाई समाधान गर्न तत्काल पहल गर्नुपर्ने आवाज स्थानीयले उठाएका छन्।