विराटनगर किङ्ग्सको जर्सी र एन्थम सार्वजनिक

<span class='c1'>विराटनगर किङ्ग्सको जर्सी</span> <span class='c2'>र एन्थम सार्वजनिक</span>

देवराज तामाङ
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्ग्सले आधिकारिक जर्सी र एन्थम सार्वजनिक गरेको छ ।

विराटनगरको रोडशेषस्थित होटल स्वागतममा मंगलबार बेलुका विशेष समारोह आयोजना गरी विराटनगरले आफ्नो आधिकारिक जर्सी र एन्थम सार्वजनिक गरेको हो। जर्सीको कलर पहेलो र निलो रहेको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किङ्ग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले जर्सी सार्वजनिक गरेका हुन्।

सो अवसरमा विराटनगर किङ्ग्सले ब्रान्ड एम्बास्डर तथा र्‍यापर कुशल पोखरेलको आवाजमा बनेको एन्थम पनि सार्वजनिक गरे । कुशल पोखरेल विराटनगर निवासी हुन्। त्यसैगरी द फेस अफ विराटनगरका रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ । विराटनगर किंग्सको गुडविलले चर्चित अभिनेता दयाहाङ राईलाई एनपिएलका लागि ब्राण्ड एम्बेसडर रहेका छन्।

त्यसैगरी यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक महेश प्रसाद रिजाल र खेलाडी रिया शर्मालाई सम्मान समेत गरिएको थियो । महिला विश्वकपमा नेपालको स्थान सुरक्षित गराउन सफल उनीहरूलाई मुख्यमन्त्री कार्की र पारस लुनियाले सम्मान गरे । कार्यक्रममा कोशी प्रदेशका ५ जिल्लामा रहेको क्रिकेट संघहरुलाई क्रिकेट किट समेत प्रदान गरिएको थियो ।

उक्त अवसरमा बोल्दै विराटनगर किङ्ग्सका मालिक लुनियाले एनपिएलले खेल क्षेत्रकै लागि यो ठुलो इभेन्ट भएको बताए । नेपालका खेलाडीहरूका लागि पनि एनपिएल ठुलो अवसर भएको सुनाउँदै उनले भने, ‘हामी विराटनगरको मात्र नभएर कोशी प्रदेशकै खेल क्षेत्र अगाडि बढाउन चाहन्छौं ।’ त्यसैगरी विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले एनपिएलमा विराटनगरको सहभागिताले विश्वमाझ विराटनगरको पहिचान उच्च हुनेमा आफू विश्वस्त रहेको बताए । उक्त कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रदेश सांसद भीम पराजुली, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लगायतको उपस्थिति रहेको थियो ।

विराटनगर किङ्ग्सको टिममा को-को छन् खेलाडी ?

सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल रहेका छन्। भने मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल र इस्मत आलम विदेशी खेलाडी रहेका छन्। त्यसैगरी मुख्य प्रशिक्षकको रुपमा केभिन ओब्रायन रहेका छन्।

यस्तो छ खेल तालिका :

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीलएको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ड्सबीच हुने भएको छ।

उनीहरूबीचको खेल मंसिर १५ गते अपराह्न १२:१५ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताका नियमित खेल भने मंसिर १७ गतेदेखि हुनेछन्। क्यानका अनुसार बिहान ९:१५ बजे पहिलो खेल र दिउँसो १:१५ बजे दोस्रो खेल हुनेछन्।

मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि उपनिर्वाचन हुने भएकाले त्यो दिन खेल नहुने क्यानले जनाएको छ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्दा दोस्रो खेलमा जनकपुर र कर्णाली याक्स आमने-सामने हुनेछन्। त्यसैगरी मंसिर १८ गते पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा दोस्रो खेलमा चितवन राइनोज् र पोखरा एभेन्सर्ज खेल्ने छन्।

लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्ने क्यानले जनाएको छ। क्यानका अनुसार लिगको शीर्ष दुईमा स्थान बनाउने टोलीले सिधै क्वालिफायर खेल्नेछन्।तेस्रो र चौथो स्थानका टोलीले एलिमिनेटर खेल्नेछन्। एलिमिनेटर खेल पुस २ गते बिहान ९:१५ बजे हुनेछ। क्वालिफायरको खेल भने दिउँसो १:१५ बजे हुनेछ। दुवै खेल पुस ३ गते हुने क्यानले जनाएको छ। क्यानका अनुसार क्वालिफायर १ मा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछन्। यो खेल पुस ४ गते अपराह्न १२:१५ बजे हुनेछ। फाइनल खेल पुस ६ गते शनिबार अपराह्न १२:१५ बजे हुने क्यानले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख गरिएको छ।

विराटनगर किङ्ग्सको एन्थम सुन्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्