विराटनगर । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको निरीक्षण गरेका छन् ।
आज(मंगलबार) निरीक्षणका क्रममा एसपी घिमिरेले कार्यालयको समग्र अवस्था र काम कारबाहीको जानकारी लिँदै ट्राफिक प्रहरीलाई लोभलालच, दबाब र प्रभावमा नपरी कानुनसम्मत काम गर्न निर्देशन दिए । उनले विशेषगरी ट्राफिक नियम उल्लंघन रोक्न र दुर्घटना न्यूनीकरणमा केन्द्रित हुन जोड दिए ।
'ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्छ । नियम उल्लंघन गर्ने सवारीलाई कारबाहीको दायरामा ल्याउनुका साथै सचेतनामूलक कार्यक्रमहरुलाई व्यापक बनाउनुपर्छ,' घिमिरेले भने । उनले थपे, 'ट्राफिक प्रहरीले जहिल्यै पनि आफू जनताको सेवक हुँ भन्ने बुझ्नुपर्छ । आचरण विपरीतका काम गर्न हुँदैन ।'
एसपी घिमिरेले आचरणविपरीत काम गर्ने ट्राफिक प्रहरीलाई तत्काल कारबाहीको दायरामा ल्याइने चेतावनी समेत दिए । उक्त अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले जिल्ला ट्राफिकको काम कारबाही र भावी योजना बारे जानकारी गराउँदै नियम उल्लंघन रोक्न र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सक्रियता बढाइएको बताए ।