विराटनगर । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
विराटनगरको होटल रुविजमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यालय कोशीका प्रतिनिधि, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका पदाधिकारी तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका संस्थापक अध्यक्ष लवमणी राजभण्डारीसहित महासंघसँग आवद्ध १०३ जना उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो।
महासंघका अध्यक्ष चेतनाथ निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग परिषदका केन्द्रीय उपाध्यक्ष भिम घिमिरे प्रमुख अतिथि तथा नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यालय कोशी प्रदेशका सहायक निर्देशक पुष्पा खनाल विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयका प्रतिनिधि राजेन्द्र पाठकले दैनिक जीवनका जोखिमहरु, जोखिम व्यवस्थापनमा बीमाको महत्व र लघुबीमाको आवश्यकताबारे प्रस्तुति दिएका थिए। छलफल कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाको समाधान नियमनकारी निकायकी पुष्पा खनाल र कम्पनीका पदाधिकारीहरूले गरेका थिए।
घरेलु तथा साना उद्योग महासंघ मोरङका सचिव श्यामलाल पौडेलले सञ्चालन गरेको कार्यक्रममा बोल्दै सहायक निर्देशक खनालले प्राधिकरणको प्राथमिकताको क्षेत्रमा कम्पनीले सहकार्य गरेकोमा खुसी व्यक्त गरिन्। प्रमुख अतिथि घिमिरेले निर्जीवन बीमाको क्षेत्रमा झन्झट रहित दाबी भुक्तानी प्रक्रियाको प्रस्तुतिका लागि धन्यवाद दिए। कार्यक्रमको समापनमा अध्यक्ष निरौलाले सहज सहकार्यका लागि कम्पनीका इटहरी प्रमुख धना भट्टराईलाई धन्यवाद दिँदै छिट्टै कार्यगत एकता गरेर महासंघसँग आबद्ध सम्पूर्ण व्यवसायीहरूलाई लघुबीमाको दायरामा ल्याउने प्रतिबद्धता जनाए।
२०७९ पौष १२ मा स्थापित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चैत्र २९ मा नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनको अनुमति प्राप्त गरेको हो। धनगढी कैलालीमा मुख्य कार्यालय रहेको कम्पनीले कोशी प्रदेशको इटहरी, विराटनगर, उर्लाबारी र बिर्तामोडमा शाखा सञ्जाल विस्तार गरेको छ।