इन्दु साह
विराटनगर । विराटनगर महानगरले सुलभ फार्मेसी संचालनमा ल्याउने तयारी गरिरहेको छ । नागरिकलाई औषधीमा सहुलियत दिनका लागि महानगरपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन लागेको हो ।
फार्मेसी सञ्चालन कार्यविधीसहित औषधी उपलब्धताको विषयमा अहिले अध्ययन गरिरहेको छ । महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवका अनुसार कोशी अस्पतालमा बिरामीको चाप बढी हुने गरेकोले त्यहि आसपास सुलभ फार्मेसी स्थापना गर्ने वा अन्य विकल्प खोज्ने भन्ने विषयमा छलफल सुरु गरिएको छ । सुलभ फार्मेसीको लागि कार्यविधी तायार भईसकेर विज्ञहरुको रायको क्रममा रहको यादवले जानकारी दिएका छन् ।
अहिलेसम्म विराटनगरमा भएको औषधी पसलहरुको अनुगमन तथा नियन्त्रणको कार्य औषधी व्यवस्था विभाग (डिडिए) ले गर्दै आएको छ । यसैलाई अब महानगर अन्तरगत ल्याउने योजना भईरहेको छ । साथै, सुलभ फार्मेसी संचालनमा चुनौतिहरु के रहन्छन् भन्ने विषयमा अलिक गम्भीर अध्ययन समेत भईरहेको बताइएको छ । त्यहाँ कर्मचारीको व्यवस्थापन गरी गर्ने, सुलभ रुपमा औषधी वितरण गर्दा त्यसको खर्च व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएका हुन् ।
फार्मेसी स्थापना गर्नका लागि ६० लाख बजेट अनुमान गरिएको छ । यो रकम फार्मेसी भवनको भाडा देखि कर्मचारीको तलब र औषधी खरीद लगायतका खर्चहरु समावेश छन् । यो योजनाले विराटनगरवासीलाई औषधी खरीदमा थप सुविधा बताइएको छ । महानगरले संचालन गर्ने फार्मेसीमा सुपथ मूल्यमा सहजै औषधी उपलब्ध हुने बताइन्छ ।