विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्टिभले विराटनगर-३ स्थित श्री मदननगर आधारभूत विद्यालयलाई एक थान कम्प्युटर र शैक्षिक सामाग्री प्रदान गरेको छ।
क्लबका अध्यक्ष सुभाष चन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्की प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पूर्व अध्यक्षहरू लक्ष्य प्रधान, फडिन्द्र थापा, बेद कुमार खत्री, सन्तोष पोदार र दिपेश चौधरी लगायतको उपस्थिति थियो।
क्लबका प्रथम उपाध्यक्ष पंकज कुमार अग्रवाल र सचिव मुना कोइरालाले उक्त शैक्षिक सामग्री प्रायोजन गरेका हुन्। विद्यालयका प्रधानाध्यापक विश्वन्त न्यौपानेले लायन्स क्लबले लामो समयदेखि विद्यालयलाई सहयोग गर्दै आएको बताउँदै यस सहयोगले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि लायन्स क्लबको सहयोगको अपेक्षा गरेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले दाताहरू अग्रवाल र कोइरालाको उदार सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सेवाभाव कायम रहने विश्वास व्यक्त गरे। अध्यक्ष यादवले आफ्नो छ महिने कार्यकालमा १५ वटा उत्कृष्ट कार्य सम्पन्न गरिसकेको उल्लेख गर्दै "जहाँ आवश्यकता त्यहाँ लायन्स" भन्ने नारा अनुरूप आगामी छ महिनामा थप सेवा विस्तार गरिने प्रतिबद्धता जनाए।