विराटनगर । कोशी प्रदेशकै अपमान हुने गरी एन्फा महिला लिग २०८१ को सुपर लिगमा आर्थिक संकट देखाउँदै सहभागी नहुने निर्णय गरेको छ । कोशी प्रदेश फुटबल संघको टिम आर्थिक संकटकै कारण मंसिर २९ गतेदेखि पुस २७ सम्म हुने सुपर लिगमा सहभागी नहुने भएको हो । एन्फा महिला लिग २०८१ को सुपर लिग चितवनमा आयोजना हुँदैन । छनौट चरणमा पाँचौं स्थान प्राप्त गरेको कोशीको महिला टिम आर्थिक संकट भन्दा सहभागी नहुँदा छनौट चरणबाट बाहिर रहेको छैटौं टिम बागमती युवा क्लब, सर्लाहीले अवसर पाएको हो।
कोशीले नखेल्ने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) भने बागमती सुपर लिगमा निम्ता पठाएर मंसिर २१ गतेभित्र टिम दर्ता गर्न भनेको थियो । त्यसका आधारमा बागमतीले टिम दर्ता गरिसकेको छ । कोशी अवसर लिएर पनि आर्थिक संकटका कारण सहभागी नहुने भएको हो ।
एन्फाको अध्यक्ष र महासचिव कोशी प्रदेशकै छन् । यस्तो बेला एन्फा कोशीको टिम भने छनौट भएर पनि खेल्न नसक्ने स्थितिमा देखिएको हो ।
एन्फा कोशीका अध्यक्ष किशोर राईले कसैले पैसा नदिने भएपछि घर बिक्री गरेर खेलाडी लान नसकेको बताउँछन् । उनले एन्फाले राष्ट्रिय लिग आयोजना गराउँदा खेलाडीलाई व्यवसायिकरण गर्ने हिसाबले योजना बनाउनु पर्ने बताए । अध्यक्ष राईले यस अगाडी छनौट चरणमा सहभागी गराउँदा व्यक्तिगत १० लाख रुपैँया खर्च भएकोले लिगमा सहभागी हुन पैसा नदिए नखेल्ने भनेर पत्र पठाउँदा अर्को टिम सहभागी गराएर एन्फा केन्द्रले आफ्नो हैसियत देखाएको आरोप लगाए । उनले विभागिय टिम आफैं सक्षम रहेको क्लव पनि सक्षम र स्थानीय तहको टिमका लागि मेयर आफैं लागेर मेनेज गरिरहेको दावी गरे । प्रदेशस्तरीय टिम कोशीको मात्रै सहभागी हुने भएपनि रकम दिने निकाय नहुँदा छनौट भईसकेको टिम समेत सहभागी गराउन नसकेको बताए ।
कोशी प्रदेश सरकारले एपिएल क्रिकेट प्रतियोगिताको फ्रेन्चआई टिम विराटनगर किङ्सलाई ३० लाख दिने घोषणा गरेको छ । तर, घरेलु महिला टिम सहभागि हुन नसकेको सूचना पाएर पनि यसको समाधानमा चासो राखिएन ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले एन्फाको झगडाले खेलाडीको अवसर रोकिएकोमा चिन्तित रहेको बताए । उनले खेलकुद विकास गर्ने सरकारी निकायको नेतृत्व गरिरहेका छन् । यो सूचना जानकारीमा भएपनि यसलाई मिलाउन एन्फासँग आफूले आग्रह गरेको बस्नेतले बताएका छन् । छनौट चरण पार गरेर सुपर लिगमा सहभागी हुनुपर्ने टिमले आर्थिक संकट देखाएर जान नसकेको भन्ने विषयमा चासो रहेको उनको भनाई छ । बस्नेतका अनुसार एन्फाले अघिल्लो पटकको समेत रकम नदिएको विवाद अहिले समेत जोडिएर आएको हो ।
चितवन महानगरपालिकाको सहयोगमा सञ्चालन एन्फा र चितवन जिल्ला फुटबल संघले आयोजना गर्ने सुपर लिगमा सहभागी प्रत्येक क्लबलाई बास बस्न तीन लाख र तयारीको लागि दुई लाख गरी कुल पाँच लाख रुपैयाँ उपलब्ध गराउने तयारी थियो । सुपर लिगले सहभागी टिमले एक–अर्काविरुद्ध दुई–दुई खेल खेल्नेछन्।
गत भाद्र र असोजमा एन्फा कम्प्लेक्समा राउन्ड रोबिनको आधारमा सञ्चालित पहिलो चरणमा विभागीय तीन टिमसहित १० टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा एपिएफ (२५ अंक) पहिलो, आर्मी (२२) दोस्रो, पुलिस (२१) तेस्रो, वालिङ नगपालिका (१५) चौथो र कोशी प्रदेश (१४) पाँचौं स्थानमा रहेका थिए। बागमती (१०) छैटौं, संकटा (८) सातौं, चन्द्रपुर नगरपालिका (८) आठौं, कर्णाली प्रदेश (४) नवौं र सबै खेल हारेको सुदूरपश्चिम अन्तिम तथा दशौँ स्थानमा रहेका थिए।