विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विराटनगरमा नवौं संस्करणको विराट गोल्डकप आयोजना गर्न फागुन तेस्रो सातालाई सेड्युल तोकेर ट्रष्टलाई पत्र पठाएको छ । एन्फाले विराट गोल्डकप ट्रष्टलाई नवौं संस्करणको गोल्डकप आयोजनाको मिति तोकेरै पत्र काटेको हो ।
विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार एन्फाको पत्र प्राप्त भएपछि ट्रष्टले छलफल प्रारम्भ गरेको छ । छलफलका क्रममा आठौं संस्करण (२०८० चैत १५ देखि) को हरहिसाबको लेखा परीक्षण गर्ने, नवौं संस्करणको फुटबल प्रतियोगिता आयोजनाको व्यवस्थापन कसरी मिलाउने ? भन्ने विषय उठेको थियो ।
आठौं संस्करण विराट गोल्डकप ट्रष्ट आफ्नै पहलमा भएको थियो । जसमा लक्ष्य अनुसारको रकम संकलन नहुँदा २५ लाख रुपिँया घाटा भएको छ । तर, सातौं संस्करण भन्दा आठौं संस्करणको अवस्था भने सन्तोषजनक रहेको मानिएको छ ।
अध्यक्ष शाहीका अनुसार प्रदेश सरकारले दिने २५ लाख, राष्ट्रिय खेलकुद परिषद्ले दिने पाँच लाख र राष्ट्रिय बाणिज्य बैंकसँग भएको सम्झौताको दुईलाख रकम अहिलेसम्म आएन । जसका कारण बजारमा १२ लाख र ट्रष्टको कोषको १३ लाखको स्रोत अपुग भईरहेको छ । यदि प्रतिवद्धता अनुसारको रकम आएको भए ट्रष्टले सञ्चालन गरेको प्रतियोगिता पनि सात लाख रुपिँया नाफामा जाने देखिन्छ, अध्यक्ष शाहीले भने–अब नवौं संस्करण कसरी गर्ने ? भन्ने सुझाव समेत अहिले मागिरहेका छौं ।
एन्फाको पत्रपछि ट्रष्टको बैठक बसेर दशदिन भित्रमा लेखा परीक्षण गरिसक्ने, लेखा परीक्षण प्रतिवेदनसहित यो कार्यकालको साधारणसभा माघमा गर्ने र त्यहि साधारणसभाले फागुन तेस्रो साताका लागि तोकिएको ‘सेड्युल मिट’ हुने गरि प्रतियोगिता गर्ने वा नयाँ सेड्युल माग गर्ने भन्ने निर्णयमा पुग्ने बताइएको छ । अध्यक्ष शाहीले ट्रष्टलाई लाभ हुने हिसाब राखेर प्रतियोगिता आयोजना हुने बताएका छन् । जसमा प्रतियोगिताले विराटनगरको पहिचानलाई समेत समेट्ने गरी भव्यता हाँसिल गर्नसकोस् ।