ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

<span class='c1'>ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको</span> <span class='c2'>सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा</span>

प्लेयस डि तिजुआना (मेक्सिको) । डोनाल्ड ट्रम्प अवैध आप्रवासीहरूको सामूहिक निर्वासन गर्ने योजनाका साथ ह्वाइट हाउसमा फर्कने एक दिनअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले आइतबार अमेरिकामा बसोबास गर्ने आफ्ना देशका नागरिकहरूको रक्षा गर्ने वाचा गर्नुभएको छ ।

“भोलिदेखि राष्ट्रपति ट्रम्पसँग सुरु हुने यो नयाँ कालखण्डमा : पहिलो, हामी त्यहाँका मेक्सिकालीहरूको रक्षा गर्नेछौँ”, सेनबमले मध्य राज्य पुएब्लामा आयोजित एक कार्यक्रममा भन्नुभयो ।

उहाँले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने कागजातविहीन आप्रवासीहरूलाई निर्वासित गर्ने आगामी अमेरिकी राष्ट्रपतिको योजनालाई सङ्केत गर्नुभयो तर स्पष्ट रूपमा उल्लेख गर्नुभएन । यसमा लाखौँ मेक्सिकाली समावेश हुनेछन् ।

आफ्नो सरकारले संयुक्त राज्य अमेरिकामा रहेका मेक्सिकोका लगभग ५० वटा वाणिज्य दूतावास कार्यालयमार्फत आप्रवासीहरूलाई सहयोग प्रदान गर्न वकिलहरू नियुक्त गरेको उहाँले जानकारी दिनुभयो ।

“यदि उनीहरूले मेक्सिको फर्कने वा मेक्सिको आउने निर्णय गरे भने उनीहरूलाई यहाँ खुला हातले स्वागत गरिने छ”, सेनबमले भन्नुभयो ।

यद्यपि वामपन्थी राष्ट्रपतिले उहाँको पूर्ववर्ती एवं सल्लाहकार एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको सन् २०१७ देखि २०२१ सम्म रिपब्लिकनको पहिलो कार्यकालमा ट्रम्पसँग ‘राम्रो सम्बन्ध’ भएको उल्लेख गर्नुभयो ।

“त्यसैले हामी राम्रो समझदारीमा पुग्नेछौँ भन्ने मलाई लाग्छ”, सेनबमले भन्नुभयो, “तर जे भए पनि, यसलाई राम्ररी बुझियोस्, टाढासम्म सुनियोस : मेक्सिको कसैको उपनिवेश होइन, कसैको संरक्षित राज्य होइन ।”

आफ्नो कार्यालयमा फर्कने क्रममा ट्रम्पले मेक्सिकोलाई बारम्बार हप्काउनुभएको छ । साथै उहाँले मेक्सिकोले सीमा पार गर्ने अवैध आप्रवासी र लागूपदार्थको प्रवाह नरोकेसम्म संयुक्त राज्य अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदारहरू मध्ये एकबाट आयातमा कडा शुल्क लगाउने धम्की दिनुभएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्