विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी भएका छन् ।
आज भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजले विकेभिएम स्कुललाई पेनाल्टीसुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच कान्ज्तिपुरका भरत चौधरी(राजन)घोषित भए ।
दोस्रो खेलमा जेभियर्स स्कुलले अरनिको कलेजलाई ४–० गोलको अन्तरले पराजित गरेको छ । जेभियर्सका प्लेयर अफ द म्याच आकाश विकले २ गोल तथा आर्या त्रिखत्री र सुमित साहले १–१ गोल गरे ।
तेस्रो खेलमा ग्यालेक्सि पब्लिक स्कुलले ग्रामथानको बुद्ध कलेजलाई २–१ को गोल अन्तरले पराजित गरेको छ । ग्यालेक्सिको जितमा प्लेयर अफ द म्याच सुजन सरदार र दिपककुमार चौधरीले १–१ गाले गरे भने बुद्धका गणेशकुमार थारुले १ गेल फर्काए ।
त्यसैगरी आजै भएको वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा साविक विजेता कान्तिपुर कलेजले भानु कलेजलाई ३४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित १० ओभरमा ३ विकेट गुमाई ७९ रन बनाएको थियो । कान्तिपुरमा प्लेयर अफ म्याच क्रितिक कामतले सर्वाधिक ३३ रन बनाए । भानुका हरेराम सिंह र रोहन शर्माले १–१ विकेट लिए ।
जवाफमा ८० रनको चुनौती पाएको भानुले ९ दशमलव २ ओभरमा सबै विकेट गुमाई ४५ रनमा सिमित भयो । भानुका सुजित महतोले सर्वाधिक १० रनको योगदान दिए ।कान्तिपुरका खेमराज हमाल र अरविन्द मण्डलले ३–३ विकेट लिए ।
दोस्रो खेलमा म्रिल्याण्ड कलेजले सगरमाथा कलेजलाई ५७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाई ९७ रन बनाएको थियो । मेरिल्याण्डका महमद अलीले सर्वाधिक २१ रनको योगदान दिए । सगरमाथाका आयुस कार्की, ब्रहमदेव यादव र प्रियान्सु गोसाईले २–२ विकेट लिए ।
जवाफमा ९८ रनको चुनौती पाएको सगरमाथाले ८ दशमलव १ ओभरमा सबै विकेट गुमाई ४० रनमा सिमित भयो । सगरमाथाले अचिरिक्त १८ रनबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मेरिल्याण्डका प्लेयर अफ म्याच आयुस साहले २ दशमलव १ ओभरमा ६ विकेट लिए ।