इशु पन्त
विराटनगर । पन्ध्रवर्ष अगाडीदेखि विराटनगरमा न्यूरो सर्जनको रुपमा कार्यरत डाक्टर यम बहादुर रोक्कालाई विशेष सम्मानसहित बिदाई गरिएको छ । विराटनगरमा १५ वर्ष अगाडीदेखि न्यूरो तथा टाउकोसँग सम्बन्धित जटिल शल्याक्रियामा सफल मानिएका डाक्टर रोकालाई विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले बुधबार विशेष सम्मान गरेको हो ।
विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल तथा विराट नर्सिङ होमको संयुक्त कार्यक्रममा कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले बरिष्ठ न्यूरो सर्जन डाक्टर रोकालाई कदरपत्र प्रदान गरेका थिए । उनलाई पूर्व क्षेत्रका जनजनको मनमनमा बस्न सफल भएको डाक्टरको रुपमा हेरिन्छ । प्रदेश प्रमुख खापुङले कोशी प्रदेशमा जीवनको महत्वपूर्ण उमेरमा ठूलो योगदान पु¥याएको भन्दै डाक्टर रोकालाई विशेष धन्यवाद र आभार व्यक्त गरेका थिए ।
सम्मान कार्यक्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका अध्यक्ष डाक्टर ज्ञानेन्द्र मानसिंह कार्कीले तत्कालको समयमा पूर्वाञ्चलवासीका लागि चन्द्रमा सरह मानिएका डाक्टर रोकालाई स्वास्थ्य क्षेत्रले बिर्सन नसक्ने बताएका थिए उनले नेपालमा न्यूरोको उपचार नै संभव नभईरहेको बेला विराटनगरमा डाक्टर रोकाका कारण भारत जानुपर्ने बिरामीलाई सहज सेवा पुगेको बताएका थिए । उनले कुनै एक विशेषज्ञ चिकित्सकले यति धेरै योगदान पु¥याउनु चिकित्सा क्षेत्र मात्रै नभई स्वास्थ्य क्षेत्रमा नै अतुलनिय रहेको बताए । उनले पूर्व क्षेत्र छोडेर गएपनि नेपालमै रहेर सेवा गर्ने डाक्टर रोकाको ईच्छालाई सम्मान गर्नुपर्ने बताएका थिए ।
विराट टिचिङ, न्यूरो सर्जरी विभागिय प्रमुख डा. सुनिल मुनाकोमीले १५ वर्ष अगाडि काठमाडौंसम्म मात्र सीमित रहेको न्यूरो सर्जरी विराटनगरमा विस्तार गर्ने डाक्टर रोकाको योगदानलाई पूर्व क्षेत्रले महत्वपूर्ण मान्नुपर्ने बताएका थिए । टाउकोको सर्जरीका केसहरु काठमाण्डौं वा भारतमा रेफर हुने गरिरहेको समयमा विराटनगरमा सिमित स्रोत र साधनसहित सेवा दिने साहस रोकाले देखाएको भन्दै प्रशंसा गरेका थिए । उनले डाक्टर रोका डाक्टरहरुको पनि आदर्श भएको बताउँदै उनले न्यूरो सम्बन्धी खोज र अध्ययनमा समेत बाटो देखाएको बताए ।
स्वास्थ्य निर्देशनालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेतले डा. रोकालाई आफ्नो ठाउँमा गएर त्यहाँका जनतालाई सहज सेवा उपलब्ध गराउन आग्रह गरे । विशिष्ट योगदानका कारण पूर्वले सधैं डा. रोकालाई सम्झिरहने उनको भनाइ छ ।
डाक्टर मोहन कार्कीले मेडिकल क्षेत्रमा मात्र नभएर कसरी बिरामीलाई काउन्सिलिङ गर्ने कुरामा समेत रोकाको शैली फरक रहेको बताएका थिए । उनले विराटनगर छोडेर गएपनि यहाँको भावना सधैं बुझ्ने आसा व्यक्त गरे । सम्मान कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर, कोशी प्रदेश स्वास्थ्य निर्देशानालयका प्रमुख ज्ञान बहादुर बस्नेत, कोशी प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको उपस्थिति रहेको थियो ।