काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँले बढाइएको छ ।
नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रूपैयाँले बढाएको हो ।
डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ भने हवाई इन्धनमा आन्तरीकतर्फ प्रतिलिटर ६ र अन्तराष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ । पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको नेपाल आयल निगमले जनाएको छ ।