प्रेम देवान
विराटनगर । एकसाता अगाडी विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित सिद्धकाली स्कुल छेउमा एक बालिकालाई खाल्डोमा गाडीएको अवस्थामा शव फेला परेसँगै यो घटनालाई आम चासोको रुपमा हेरिएको छ । घटना आफ्नै मावली घरभित्रबाट घटाएर लुकाउन खोजिएको रहस्यले आम चासो बढाएको हो । अझै यतिसम्म की, एक सातासम्म पनि घटनाको अनुसन्धान कहाँ पुग्यो ? भन्ने प्रहरीले अझै सार्वजानिक गरेको छैन ।
गत माघ १८ गते शुक्रबार भारत बिहार छपराकी १४ बर्र्षीया चाँदनी यादवको शव मामली घरको बारीमा हत्यापछि गाडीएको अवस्थामा फेला परेको थियो । प्रहरीले उत्खनन गर्दा चार फिट गहिरो खाल्डोमा शव गन्हाउने स्थितिमा फेला परेको थियो । शवको पोष्टमार्टमपछि उनको अन्त्येष्टिसँगै किरिया भईरहेको छ । घटनापछि अवस्था यस्तो छ, बालिका यादव हुन् र उनको मावली मण्डल । उनको काजकिरिया मावलीतर्फ पनि ठूली आमाको छोरा बबी देवल मण्डलले गरिरहेका छन् । हत्या भएकी चाँदनी बहिनीकी छोरी हुन् भने बबी दिदीको छोरा । बबीको घर मावली नजिकै छ । उनैले मावली हजुरबुबा सरजुग मण्डलसहित हजुरआमा, मामा र माइजुसहित सानिमा र सानुबाबु विरुद्ध किटानी दिएका छन् । प्रहरीले हजुरबुबा सरजुगसहित हजुरआमा बतासी, मामा रामबाबु र माइजु जानकी मण्डल पक्राउ परेका छन् । यसैगरी चाँदनीका बुबा लालमोहन राय यादव र आमा राजकुमारी राय यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
एक महिनापछि बाबु लालमोहन र आमा राजकुमारीसहित चाँदनीलाई मावली घर ल्याइएको थियो । आमा र बाबु केहिदिनपछि भारत फर्केपनि चाँदनीलाई यहि छोडिएको थियो । चाँदनीको हत्या गर्र्नुको पछाडी भारतमा अन्तरजातिय प्रेम सम्बन्ध रहेको भनाई बाहिर आएको छ । प्रेम सम्बन्ध छुटाउने उद्देश्य राखी बाबुआमाको कुरा नमानेपछि रिसको झोंकमा सबै मिलेर कुटपिट गरेको हुन सक्ने दावी छ । तर, सामान्य कुटपिट हुदाँ सम्वेदनशील भागहरुमा चोट लागेका कारण चाँदनीको घटना स्थलमा नै मृत्यु भएको हुन सक्ने स्रोतको भनाई छ । यता चाँदनीको अनाहक मै मृत्यु भएपछि घटना लुकाउन शव बारीमा गाडेको हुन सक्ने देखिन्छ । तर, यता चाँदनी बेपत्ता भएको हल्ला गाउँमा गाइँगुइँ चलेको थियो । त्यो सूचना प्रहरीमा पुग्यो । मोरङ प्रहरीले सादा पोसाकका प्रहरीलाई खटाएर घटनाबारे खोजतालासमा लागि पर्यो । नभन्दै प्रहरीले माघ १८ गते बारीमा चाँदनीको शव गाडेको स्थान पत्ता लगायो ।
मोरङ प्रहरी यसो भन्छ
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुुसार अहिलेसम्मको प्रारम्भिक अनुुन्धानबाट हेर्दा चाँदनीको हत्या परिवार सदस्यबाट नै भएको हो की भन्ने एक खालको निष्र्कषमा पुगको बताउँछन् । घटनामा संलग्न आमाबुबा सहित ६ जनालाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको उनले बताए । घटनाबारे अन्तिम निष्र्कषमा पुगेको उनको दावी छ । ‘घटना के कसरी घट्यो भन्ने विषयमा एक खालको खाका बनिसकेको र यथेष्ट प्रमाणमुखी आधारहरु फेला पारिसकेपछि सार्वजानिक गर्नेछौं’ उनले भने ।