काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधि सभामा बोल्दै पूर्व प्रधानमंत्री प्रचण्डले सो अध्यादेशमा भएको व्यवस्थाप्रति गैरआवासीय नेपालीहरूले असन्तुष्टि जनाइरहेको जनाए ।
‘हामी सबैको सहमतिमा नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं । म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालीन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गरेँ’, प्रचण्डले भने, ‘त्यसयता झन्डै चार हजार जना एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता लिइसक्नु भएको छ । तर सरकारले मातहतका निकायलाई एउटा सर्कुलरसम्म नगर्दा त्यसको कार्यान्वयन हुन सकेको छैन । यो कागजको खोस्टो सरह भयो भनेर उहाँहरूले गुनासो गरिरहनु भएको छ । अहिले आएर एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद छ ।’
संविधानले नै राजनीतिकबाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरा सुनिश्चित गरिसकेपछि फेरि भिसाको प्रावधान संविधानको मर्म र भावना विपरीत पनि भएको उनले बताए ।
‘यसले एनआरएन लगानीलाई मात्र दुरुत्साहन गर्दैन, दोस्रो तथा तेस्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने पहलमा पनि आघात पुग्छ । त्यसैले संविधानले एनआरएनहरुलाई दिएको अधिकारमा दायाँबायाँ नहुने गरी तत्काल कार्यान्वयनमा ल्याउन म सरकारलाई खबरदारी गर्दछु’, प्रचण्डले भने ।
एनआरएन नागरिकता लागू गर्न अपिल
यसैबीच एनआरएनका पूर्व केन्द्रीय अध्यक्ष कुल आचार्यले संविधानले उल्लेख गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी एनआरएन नागरिकता लागू गर्न र व्यवहारिक कठिनाइ तथा वाधा व्यवधान हटाउन तत्काल निर्देशन दिन प्रधानमंत्री केपी शर्मा ओली, सम्बद्ध मंत्रीहरु तथा नेपाल सरकारलाई हार्दिक आग्रह गरेका छन् । उनले अध्यादेशमा रहेको एनआरएनहरुलाई भिसा दिने प्रावधान हटाउन साथै संविधानले दिएको अधिकार कार्यान्वयन गराउनको लागि आआफ्नो ठाउँबाट पहलकदमी गर्न पनि संसारभरि रहेका एनआरएनहरुलाई आग्रह गरेका छन् । उनले संसदमा गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धन्यवाद पनि दिएका छन् । उनले २०८० अशोज ३० गते पहिलो गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेका थिए ।