काठमाडौं । प्रतिनिधि सभा बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ ।
आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ ।
त्यस्तै, कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । यसैगरी आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस)सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै आज प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि बस्दैछ । बिहान ९ बजे बस्ने बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुदैछ ।
आज नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुदैछ ।