विराटनगर । विराटनगरमा अनलाइन प्रविधिमार्फत नागरिकता सिफारिस सुरु भएको छ । विराटनगर महानगरपालिका वडा कार्यालय ९ मा आइतबार महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अनलाइन नागरिकता सिफारिस कार्यको शुभारम्भ गरेका हुन् ।
नागरिकता वितरणलाई सहज बनाउन ‘सीसीआईएमएस’ (सेन्टरलाइजेज सीटीजनसीप इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) डाटा सफ्टेवयरमार्फत वडा कार्यालयबाट नयाँ नागरिकताको सिफारिस हुनेछ । नेपाल सरकारले ‘सफ्टवेर’मा नागरिकता अभिलेखसहितको विवरण तयार पारेको छ । जसका आधारमा वडाले सेवाग्राहीलाई नागरिकता सिफारिस गर्नेछ । यो सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता ‘प्रिन्ट’ गरेर जारी गर्नेछ ।
विराटनगरसहित मोरङमा १७ पालिकाका १५९ वडामा आइतबार ‘सीसीआईएमएस सफ्टवेयर’ प्रयोग गरेर नागरिकताको सिफारिसलाई अनलाइन प्रणालीमा लैजाने कार्यक्रम सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
‘सीसीआईएमएस सफ्टवेयर’ को प्रयोगबाट सिफारिस गर्दा यसअघि वडा कार्यालयले अनुसूची सिफारिस गर्ने प्रक्रिया सकिनेछ । नागरिकता लिने सेवाग्राही वडामा पुगेपछि यस अगाडी जिल्ला प्रशासनले गर्ने कार्य वडाले नै सक्नेछ । यस अगाडी वडाले अनुूसूची फारम भरेर पठाएको कागजात प्रशासनले प्रमाणीकरण गरी सम्बन्धित व्यक्तिको सनाखत गराएपछि सफ्टवेयरमा ‘इन्ट्री’ हुन्थ्यो । यो विवरण इन्ट्री अब वडाले नै सफ्टवेयरमा गरिसक्नेछ ।
‘सीसीआईएमएस’ प्रणालीको यूजर आइडी वडाका सचिवसँग रहनेछ । सेवाग्राहीको सबै विवरण र कागजात वडा कार्यालयले नै ‘सफ्टवेयर’मा ‘अपलोड’ गरेपछि त्यसको एकप्रति सेवाग्राहीलाई दिएर पठाउने छन् । सेवाग्राहीले वडाबाट दिइएको प्रतिलिएर जिल्ला प्रशासन कार्यालयमा पुगेपछि अनलाइन इन्ट्री भएको विवरणका आधारमा नागरिकता प्रिन्ट गरेर दिईने प्रजिअ यादवले जानकारी दिएका छन् ।
वडामा सेवाग्राहीका विवरणसहितको कागजात ‘स्क्यान’ गरी ‘अपलोड’ गरेपछि अनुसूची ‘प्रिन्ट’ गरेर वडाध्यक्षले हस्ताक्षर गनुपर्ने हुन्छ । त्यो सेवाग्राहीमार्फत प्रशासन कार्यालयमा पुग्नुपर्ने हुन्छ । यो प्रणालीको शुभारम्भ भएसँगै आगामी हप्ताको आइतबारदेखि अनलाइन सिफारिसले मात्रै मान्यता पाउने प्रजिअ यादवले जानकारी दिएका छन् । यस्तो सेवाले एउटै कामका लागि सेवाग्राहीले दोहोरो झन्झट बेहोर्नु पर्नेछैन । यसले नागरिकताको अभिलेख ‘नेसनल सर्भर’ (जीआईडीसी)मा रहनेछ ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालाले यो सिस्टमले नागरिकताको अभिलेख समेत अनलाइन प्रणालीमा रहने बताए । उनले अब कुनै कारणले नागरिकता हराए वा नष्ट भएमा त्यसको विवरण सहजै पाउन सकिने विश्वास व्यक्त गरेका छन् ।