विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले ट्राफिक प्रहरीहरुलाई ‘आधारभूत जीवन सहयोग’ तालिम प्रदान गरेको छ । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको एनेस्थेसियोलोजी, क्रिटिकल केयर एण्ड पेन म्यानेजमेन्ट विभाग र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी, नेपालको सहकार्यमा ट्राफिक प्रहरीलाई तालिम दिइएको हो ।
यस तालिमले ट्राफिक प्रहरीलाई आकस्मिक स्वास्थ्य सहायता प्रदान गर्ने क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ। शनिबारदेखि सुरु भएको तालिममा मोरङका ३३ जना ट्राफिक प्रहरी सहभागी भएका थिए ।
तालिमको नेतृत्व गरेका लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी अध्यक्ष शिव शंकर मण्डलका अनुसार तालिमको क्रममा सहभागीहरूलाई प्रारम्भमा आधारभूत जीवन सहयोग सम्बन्धी संक्षिप्त प्रस्तुति दिइएको थियो। त्यसपछि, मानिकिन्सको प्रयोग गरी व्यवहारिक प्रशिक्षण गरिएको थियो । ट्राफिक प्रहरी अधिकृतहरूलाई विभिन्न परिदृश्यहरूमार्फत अभ्यास गराउने व्यवस्था गरिएको थियो।
प्रशिक्षकहरूको अगाडि समूहमा बाँडेर तालिममा सिकेका सीपहरू प्रदर्शन समेत गर्न लगाइयो । तालिम नोबेल मेडिकल कलेजको एनेस्थेसियोलोजी विभाग प्रमुख सहप्राध्यापक डा. बन्दना पौडेलको नेतृत्वमा सम्पन्न भएको थियो। चिकित्सकहरूको टोलीमा डा. रुपक भट्टराई, डा. सञ्जय गौतम, डा. रोशन कार्की, र डा. निरा सहभागी थिए ।