विराटनगर । कोशी प्रदेशमा आयोजना हुने ‘प्रथम कोशी खेलकुद महोत्सव’, २०८१आज (मंगलबार )देखि सुरु हुँदैछ ।
खेलकुद महोत्सवको उद्घाटन कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले विराटनगरस्थित सहिद रंगशालामा गर्ने छन् । प्रदेश खेलकुद विकास बोर्डले पहिलोपटक फागुन १३ गतेदेखि १८ गतेसम्म खेलकुद महोत्सवको आयोजना गरेको हो ।
महोत्सवअन्तर्गतका विभिन्न खेलकुद प्रतियोगिता प्रदेश राजधानी विराटनगर र झापामा हुने छन् । बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल र खेलाडीहरूको व्यक्तित्व विकास तगा प्रवर्धन गर्ने उद्देश्यले पहिलोपटक खेलकुद महोत्सव आयोजना गरिएको हो ।
‘कोशी प्रदेश खेलकुद महोत्सव, २०८१ ले प्रदेशलाई स्थापित गर्दै खेल पर्यटनको विकासमा सहयोग गर्छ । प्रदेश राजधानी खेलकुदको ‘हब’ हो भनेर सन्देश दिन्छ,’ उनले भने ।
बस्नेतले १० औं राष्ट्रिय खेलकुदमा खेलाडीले बढीभन्दा बढी पदक जित्न सकुन् भनेर राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा खेलकुद महोत्सव गर्न लागिएको बताए ।
बोर्ड सधैँ खेलाडीको पक्षमा रहेको बताउँदै उनले खेलाडीले धेरैभन्दा धेरै पदक जितेमा प्रदेशकै नाम र इज्जत रहने उल्लेख गरे । ‘खेल गति नै खेलाडीको प्रगति हो’ भन्ने उद्देश्यका साथ खेलकुदको विकास गर्नुपर्ने पक्षमा बोर्ड रहेको उनको भनाइ छ ।
महोत्सवमा ११ वटा इभेन्टहरू एकै ठाउँमा गरेर नयाँ र सकारात्मक सन्देशका साथै एउटा नजिर स्थापित गर्न खोजिएको उनले बताए ।
उनका अनुसार खेल महोत्सवमा १ हजार जना बढी खेलाडीहरू प्रत्यक्ष रूपमा जोडिने छन् । विकसित मुलुकमा खेलाडीलाई उच्च सम्मान दिने गरिन्छ । तर, नेपालमा खेलाडी, खेलकर्मी र अफिसियलहरूले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने तिताे यथार्थ रहेको उनको भनाइ छ ।
खेलकुद महोत्सवमा एथलेटिक्स, कबड्डी, डोरीतान, सफ्टटेनिस, कराँते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटबल, महिला भलिबल, टेबलटेनिससमेत खेलहरू समावेश गरिएको छ ।