मणिराम दाहाल
सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकास्थित तमु बुद्धिस्ट गुम्बामा नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा फागुन १६ देखि २० गतेसम्म दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनीको सुरूवात गरेको आयाेजकले बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान आयोजक तथा बेलबारी प्रज्ञाप्रतिष्ठान सहआयोजक रहने कार्यक्रममा कोशी प्रदेश सरकार , सामाजिक विकास मन्त्रालय र बेलबारी नगरपालिकाको आर्थिक सहयोग रहेको छ। प्रदेशका १४ वटै जिल्लाका सबै विधाका कलाकारहरूको सहभागिता रहेने प्रदर्शनीमा १ सय ८६ जना कलाकारहरूका २ सय २१ वटा कलाकृतिहरू सामेल गरिएकाे परिषद सदस्य तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान कोशी प्रदेश संयोजक सन्जय बान्तवाले जानकारी दिए ।
उनले समसामयिक मुर्तिकला १८ वटा, समसामयिक चित्रकला १ सय २० , परम्परागत चित्रकला ५ , हस्तकला ३५ ,फोटोग्राफी कला १६ तथा लोककला २८ वटा रहने पत्रकार सम्मेलनमा उल्लेख गरे ।
छनोट भएका कलाकृतिहरू राष्ट्रिय प्रदर्शनीमा पनि समावेश हुने उल्लेख गरिएको छ । साथै प्रदर्शित कलाकृतिहरू मध्येबाट एकजनालाई रु. ५० हजार राशिको उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार र अन्य विभिन्न विधामा रु. २५ हजार राशिको विधागत पुरस्कारले पुरस्कृत गरिने आयाेजकले बताएको छ ।
कार्यक्रममा प्रदेशमा रही लामो समयदेखि निरन्तर कला सिर्जनामा लागिरहेका ४ जना सर्जकहरूलाई सम्मान अर्पण गरिने बताइएको छ । कार्यक्रमको पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रिय कलाकारहरु सहितको कला कार्यशाला , तेस्रो दिन समसायिक कला, लोककला तथा रैथाने कला सम्बन्धी अन्तरकृया , चौथो दिन साङ्गीतिक , सांस्कृतिक समारोह रहने कार्यक्रमका प्रचारप्रसार संयाेजक विकास बुढाथोकीले जानकारी दिए। उनले प्रदर्शनीको अवधीभर १५ हजार भन्दा बढी दर्शकहरूलाई अवलोकन गराउने लक्ष्य राखिएकोले अहिले कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेको बताए।
गतवर्ष कोशी प्रदेशको प्रदर्शनी इटहरी उपमहानगर पालिकाको कृति र प्रकृतिको सङ्गम स्थल इटहरी म्याट्रिक्समा सम्पन्न भएको थियो ।