विराटनगर । विराटनगरमा जारी 'प्रथम कोशी प्रदेश खेलकुद महोत्सव' अन्तर्गत कराते खेल (प्रतियोगिता) मा कुनै पनि विवाद नरहेको जिल्ला खेलकुद विकास समिति मोरङले जनाएको छ।
समितिका कार्यालय प्रमुख राजन पोखरेलले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै विराटनगरमा जारी खेलकुद महोत्सवलाई जबरजस्ती विवादमा ल्याउन खोजिएको उल्लेख गरेका छन्।
कराते महासंघको हवाला दिएर खेलकुद महोत्सवलाई जबरजस्ती 'विवाद'मा ल्याउने प्रयास भइरहेको हुँदा सबैले सत्यतथ्यका आधारमा रहेर महोत्सवलाई सफल बनाउन पोखरेलले आग्रह गरेका छन्।
पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कराते खेलका विषयमा आएको समाचारप्रति मोरङ जिल्ला खेलकुद विकास समितिको गम्भीर ध्यानाकर्षण भएको छ। कोशी प्रदेशमा कराते महासंघ दर्ता नभएको र वैधानिक संघ नरहेको कुरा प्रष्ट पार्न चाहन्छु। साथै कराते महासंघको संशोधित विधान अनुसार जिल्ला संरचना पनि नरहेको उल्लेख भएकोले कुनै पनि जिल्लामा रहेको भनिएका कराते जिल्ला महासंघ वैधानिक नहुने कुरा स्पष्ट नै छ।'
विराटनगरमा जारी खेलकुद महोत्सवअन्तर्गत कराते विधामा मोरङ जिल्लाको खेलाडी छनोट प्रक्रिया विवादित रहेको भन्ने कुरा तथ्यहीन रहेको विज्ञप्तिमा भनिएको छ। मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरजबहादुर श्रेष्ठ, उपाध्यक्ष शशिकला श्रेष्ठ, कार्यालय प्रमुख राजनकुमार पोखरेल, नेपाल कराते महासंघका केन्द्रीय सदस्य भानु यादव, कोशी प्रदेश कराते प्रशिक्षक विमल पोखरेल र राजु महर्जन, मोरङ जिल्ला खेलकुद विकास समितिमा कार्यरत कराते प्रशिक्षक प्रवीणकुमार राना मगर, मंजिल गौतम, कुन्ती गुरुङलगायत जिल्लाभित्रका विभिन्न १२ वटा डोजोका स्वयंसेवक प्रशिक्षकहरूको उपस्थितिमा खेलाडी छनोट भएको पोखरेलले बताए।
फोटो:फाइल