काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १२ रन मात्र बनाउन सकेको हो ।
डेभिड मिलरले १०० रनको योगदान दिए पनि जितका पर्याप्त भएन । त्यस्तै रासी भान डेर डुसेनले ६९ रन जोड्दा कप्तान टेम्बा बाभुमाले ५६ रन बनाए ।
न्युजिल्याण्डका मिचेल स्यान्टनरले तीन विकेट लिँदा ग्लेन फिलिप्स र म्याट हेनरीको नाममा दुई दुई विकेट रह्यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६२ रन बनाएको थियो । यो च्याम्पियन ट्रफीको हालसम्मकै ठूलो स्कोर हो ।
आइतबार हुने फाइनलमा न्युजिल्याण्डले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।