जोगिराको संरक्षणमा तीन पुस्ता

<span class='c1'>जोगिराको संरक्षणमा</span> <span class='c2'>तीन पुस्ता</span>

सञ्जीतकुमार मण्डल / रासस
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँका ७२ वर्षीय वृद्धबहादुर महरामा अहिले पनि जोगिरा गाउन उत्तिकै सक्रिय देखिनुहुन्छ । जोगिरा (होली पर्वको बेला तराई मधेसको गाउँ/टोलमा गाइने विशेष प्रकारका गीत, चुटकिला) गाउँदै गाउँमा डुल्न ठूलो सोख लाग्ने गर्दछ । होलीको पूर्वसन्ध्यामा डम्फु बजाउँदै गायनमा रमाउन पाएकामा खुसी हुँदा उहाँ भन्नुहुन्छ, “मलाई जोगिरा गाउँदा जीवनको सबैभन्दा खुसीको अनुभूति हुने गर्दछ । यसले मनोरञ्जनसँगै संस्कृतिको संरक्षण भएको छ ।”

बहादुर जस्तै सोही वडाको सोही गाउँका अर्का ६० वर्षीय रामबाबु चौधरी पनि अहिले जोगिरा गायनका लागि आफ्नो ढोलक लिएर गाउँको चोकमा पुगिसक्नुहुन्छ । आफ्नो दलानमा टाँगिएको ढोलकलाई सफा गरेर नयाँ डोरी लगाउने (बुन्ने), रङ्गरोगन गर्ने र ताउ दिने काम गरिसक्नुभएको छ । जोगिरा गायनका लागि परापूर्वकालदेखि नै विख्यात बजराही गाउँका ५५ वर्षीय अरुण पाण्डे पनि गाउँका बूढापाका, तन्नेरीहरुसँगै झ्याली पिट्दै जोगिरा गाउन निस्कने गर्नुहुन्छ । उहाँकै छिमेकी ४५ वर्षीय रामदेव राम अहिले आफ्नो हार्मोनियम बोकेर जोगिरामा सङ्गीत भर्न तम्तयार देखिनुहुन्छ ।

जोगिरा गायनका लागि विख्यात जलेश्वर नगरपालिका–८ बजराही गाउँमा अस्ति मङ्गलबारदेखि बहादुर महरा साँझ पर्नासाथ आफ्ना घरबाट हातमा डम्फु समातेर गाउँको चौबाटोमा आइपुग्नुहुन्छ । महरा चौबाटोमा आउनेबित्तिकै रामबाबु चौधरी पनि आफ्नो घरबाट ढोलक बजाउँदै बहादुर भएको ठाउँमा पुग्नुहुन्छ भने अरुण पाण्डेले झ्याली पिट्दै तथा रामदेव राम पनि हार्मोनियम लिएर सहभागी भइसकेको हुनुहुन्छ । गाउँका बूढापाकाहरुले हौसिँदै विभिन्न वाद्यवादनमा चौबाटोमा आइपुगे लगत्तै गाउँका युवाहरु पनि जम्मा हुन थाल्छन् ।

बजराही गाउँको चौबाटो यी सबै व्यक्तिहरु कुनै सभा, सम्मेलन, बैठक, बहस वा छलफल गर्नका लागि जम्मा हुँदैनन् । बरु आपसी भाइचारा, प्रेम सद्भाव, सुखदुःख साटासाट गर्न र पुस्तौँदेखि चल्दै आइरहेको जोगिराको संरक्षण र प्रवद्र्धनका लागि दैनिक रुपमा जम्मा हुन्छन् र अबेर रातिसम्म सँगै बसेर जोगिरा गायन गाउने प्रचलन छ ।

स्थानीय पवित्र साह, श्रवण यादव, सिकिन्द्र ठाकुर, विट्टु मिश्र, राहुल साहलगायतका युवाहरुले जोगिरा गायनका गीत, चुट्किला परम्परागत भनाइहरु कागजमा लिपिबद्ध गरेका छन् । गाउँका बूढापाकाहरुलाई भेटेर उनीहरुले भनेका ऐतिहासिक भनाइ, लोकभाका, गीत र चुट्किलाहरुलाई टिपोट गरेर गोगिरामा गाउने विषय बनाएका छन् ।

जलेश्वर नगरपालिका–८ का तीन पुस्ताहरु जोगिराको जगेर्नामा लागेकै बेला वडा नं ७ का वडाध्यक्ष रामछविला यादवसहित स्थानीय अनिल यादव, शङ्कर कापर, मनोहर झालगायतका व्यक्तिहरु पनि आफ्नो गाउँटोलमा जोगिरालाई संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा लागिपर्नु भएको छ । बूढापाकाहरुबाट नयाँ पिँढीमा जोगिरालाई हस्तान्तरण गराउन विभिन्न कार्यक्रमलाई अगाडि बढाइएको छ । युवाहरुलाई हार्मोनियम, ढोलक, झ्याली र डम्फु बजाउन सिकाउने र जोगिराका भाकाहरुमा पनि लय भर्ने कार्यमा सक्रिय गराइएको यादव बताउनुहुन्छ ।

यतिबेला जिल्लाको अन्य पालिकाहरु पनि जोगिरा संरक्षण र संवद्र्धनका विभिन्न कार्यक्रम भइरहेका छन् । तराई मधेसमा रङ र अबिरको पर्व होली पर्व आउन १० दिन बाँकी रहँदा मिथिलाञ्चको प्रत्येक गाउँ÷टोलमा होलीको गीत (जोगिरा)ले गुञ्जमान हुने गर्दछ ।

‘शिव मण्ठपर राम खेलैया होली, शिव मण्ठपर ।’
‘शिव मण्ठपर राम खेलैया होली, शिव मण्ठपर ।’
‘शिव मण्ठपर हो, शिव मण्ठपर हो, शिव मण्ठपर ।’
‘शिव मण्ठपर राम खेलैया होली, शिव मण्ठपर ।’

नेपालका तराई÷मधेस र भारतको विहार राज्यको अधिकांश जिल्ला समेटिएर बनेको मिथिलाञ्चल क्षेत्रमा साँझ पर्ने बित्तिकै गाउँगाउँमा डम्फु, झ्याली, ढोल, मृदङ्ग बज्न थाल्छन् भने चारैतिर जोगिराको धुनहरु सुनिन्छ ।

‘खेले मसानेमे होली दिगम्बर खेले मसानेमे होली,
‘खेले मसानेमे होली दिगम्बर खेले मसानेमे होली,
हो, हो भूत परेतक टोली दिगम्बर खेले मसानेमे होली
‘खेले मसानेमे होली दिगम्बर खेले मसानेमे होली,
‘खेले मसानेमे होली दिगम्बर खेले मसानेमे होली,

बजराहीमा मात्रै नभएर अस्तिदेखि मिथिलाञ्चलको प्रत्येक गाउँठाउँमा साँझको ७ बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा सुनिन थाल्छ । होलैयाहरु (जोगिरा गाउनेहरु) एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा आ–आफ्ना घरआँगनमा बसिरहेका जो कोही पनि प्रसन्नताका साथ स्वरमा स्वर थप्ने गर्दछन् । होलैयाहरुले हात हातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजाहरु लिएर विभिन्न धुन र सङ्गीतको सिर्जना गर्दै सुरु गरेका जोगिरा राति ११÷१२ बजेसम्म निरन्तर रुपमा चलिरहन्छ ।

विभिन्न प्रकारका मैथिली लोकभाका, गीत, चुटकिला, हाँसो ठट्टा र जिस्काउने तीतामीठा वाक्य र शब्दहरुलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेहरुको भीड लाग्ने गर्दछ भने जोगिराका क्रममा हुने नाच र गानमा समेत ठूलो सङ्ख्यामा सहभागी हुने गरेकोे जलेश्वर–८ का होलैया धीरेन्द्र चौधरीले बताउनुभयो ।

जलेश्वर नगरपालिका–८ बजराही गाउँका जोगिरा टोली जिल्लामै निकै चर्चित मानिन्छ । यहाँको जोगिरा टोलीमा हिन्दू र मुस्लिम दुवै समुदायको सहभागिता रहेको स्थानीय युवा राजा राइन बताउनुहुन्छ । परापूर्वकालदेखि नै यहाँका मुस्लिमहरु हिन्दूको पर्वमा र हिन्दूहरु मुस्लिमको चाडपर्वमा एकसाथ उभिएर चाडपर्व मनाउँदै आएको स्थानीय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अगुवा नेता मनोज साह बताउनुहुन्छ ।

बजराही गाउँमा जोगिराको थालनी भएलगत्तै वडा नं ७ अनकार गाउँमा पनि जोगिरा गायनको सुरुआत हुने भएको वडाध्यक्ष रामछविला यादवले बताउनुभयो । वडाध्यक्ष रामछविला यादव स्वयं पनि होलैया भएको कारण त्यस वडामा पनि होलीको अवसर पारेर जोगिरा गाउनकै लागि युवाहरु देश परदेशबाट गाउँ फर्किएका छन् । यहाँका युवा, वयस्क तथा वृद्धहरु समेतको छुट्टाछुट्टै टोलीले जोगिरा गाएर पूरै वडालाई नै सङ्गीतमय बनाएका छन् ।

स्थानीय शङ्कर कापरका अनुसार यस वडामा आजदेखि अब कतिबेला साँझ पर्ने र कतिबेला होलैयाहरु आएर जोगिरा सुरु गर्ने प्रतीक्षामा घर घरमा महिला, पुरुष तथा बालबालिका र वृद्धवृद्धा समेत बसिरहेका हुन्छन् भने जोगिरा सुरु हुने बित्तिकै प्रत्येक घर–घरबाट निस्केर सबैजना होलीगीत सुन्नका लागि चोकसम्म पुग्ने गर्दछन् । विभिन्न उमेर समूहका व्यक्तिहरु बसेर जोगिरा गाउने, हाँस्ने, हँसाउने, कथा, कहानी र जीवनका अनुभवहरु साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठूलालाई आदर सत्कार र सानालाई स्नेह बाँड्ने काम हुने गरेको वडाध्यक्ष मधुवेन्द्र झाले बताउनुभयो ।

‘जोगिरा सररर, जोगिरा सररर ।’
‘जोगिरा सररर, जोगिरा सररर ।’
‘जोगिरा सररर, जोगिरा सररर ।’
‘रङ्ग बरसे भिगे चुनरबाली रंग बरसे,
हो रंगबरसे भिगे चुनरवाली रंगबरसे’
‘जोगिरा सररर, जोगिरा सररर ।’
‘मिथिलामे राम खेलैया होली, मिथिलामे ।’
मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’
‘किनका के सोभे पियरी पितम्बर,
‘किनका के सोभे पियरी पितम्बर,
किनकाके हाथ अबिर झोली ?
हो, हो, किनकाके हाथ अबिर झोली ? मिथिलामे’
‘मिथिलामे राम खेलैया होली, मिथिलामे ।’
हो हो ‘सीताजीके सोभे पियरी पितम्बर,
‘सीताजीके सोभे पियरी पितम्बर,
हो, हो, रामजीके हाथ अबिर झोली । हो मिथिलामे,
मिथिलामे राम खेलैय होली, मिथिलामे ।’
‘सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया ।’
सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया ।’
सीया झारु नम्बी केश, सीया हो, हो, हो ।
सीया झारु नम्बी केश, सीया हो, हो, हो सीया झारु नम्बी केश ।
राम लैहे सोनेके ककहिया ।’सीया झारु नम्बी केश ।

सदरमुकाम जलेश्वर नगरपालिकाको बजराही, अनकार र पिपराको बनौली गाउँ जस्तै जोगिराको धुनमा बर्सेनी मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ पनि रंगिने गरेको स्थानीय नेपाली काँगे्रसका नेता एवं सामाजिक अगुवा चन्दन दुबेले बताउनुभयो । बथनाहा गाउँमा पनि आजदेखि कत्ति बेला साँझ पर्ने भन्दै स्थानीय बासिन्दाहरु प्रतीक्षामा रहने र जोगिरा गायन शुरु भएपछि पूरे गाउँ झुम्मिने उहाँले बताउनुभयो ।

होली पर्वलाई लक्षित गर्दै मिथिलाञ्चल क्षेत्रमा गाइने जोगिरा गायनले मिथिलाञ्चलको सम्पूर्ण गाउँ ठाउँका वृद्ध, वयस्क तथा युवामा नयाँ उत्साह र उमङ्ग भरेको छ । दुःख बिर्साएर खुसी साटासाट गर्ने महापर्वको होलीलाई आगमनको प्रतीक्षामा महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र भारतका मधुबनी र दरभङ्गा जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा अस्तिदेखि जोगिरा सुरु भएको छभने यी होलीगीत (जोगिरा) होली पर्वको एकराति पूर्वसम्म टोलटोल र चौकचौकमा चलिरहनेछ ।

प्रायः होलि पर्वभन्दा १०/११ दिन पहिले सुरु हुने जोगिरा गाउन सुरु गरिन्छ भने होली पर्वको अघिल्लो रातिसम्म गाइने चलन रहेको जलेश्वर–८ पण्डित बद्रीनारायण झाले बताउनुभयो । होलीगीत केवल मनोरञ्जनको साधन वा गीत नभएर हाम्रो परम्परा एवं हाम्रा पुर्खाको धरोहर रहेको र यस परम्परा तथा धरोहरलाई संरक्षण, संवद्र्धनका साथै यसको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व रहेको बताउनुहुन्छ संस्कृतिविद् धु्रव राय ।

जोगिरा मिथिलाञ्चलको मात्रै नभएर नेपाल र भारत देशकै धरोहर एवं सम्पत्ति रहेको बताउँँदै जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् धु्रव राय इतिहास एवं हाम्रा पूर्वजको सम्मान र भविष्य एवं सन्ततिका लागि जोगिराको जगेर्ना गर्नुैपर्ने धारणा राख्नुहुन्छ । उहाँले यसका लागि हामी प्रत्येक मिथिलाञ्चलवासी, स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय र धार्मिक, सांस्कृतिक एवं पुरातत्व विभाग पनि उत्तिकै उत्तरदायी तथा जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै पालिकाका विभिन्न वडा र गाउँटोलमा युवा तथा वयस्कका टोलीहरु जोगिराको जगेर्ना गर्न सक्रिय देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्