विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् ।
बुधबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर अखिलका उमेदवारहरु मोरङ क्याम्पस सुधार्न आफ्नो संगठन जित्नुपर्ने दावी गरेका हुन् । ‘हामी सधैँ विद्यार्थीहरूको हित र अधिकारका लागि लड्दै आएका छौं, र यही कारणले विद्यार्थीहरूले हामीलाई साथ दिनेछन्,’ सभापतिका उमेदवार यादवको दावी थियो ‘हामी विद्यार्थीहरूको आवाज हौं ।
विगतमा पनि विद्यार्थीहरूको शैक्षिक, प्राज्ञिक र भौतिक समस्याहरू समाधान गर्न ठूलो भूमिका निर्वाह गरेको उनको दावी छ । यादवले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै क्याम्पसमा थप पुस्तकालय सुविधा, इन्टरनेट कनेक्टिभिटी सुधार, छात्रावास सुविधा विस्तार, र व्यावसायिक सीप विकास तालिमहरू आयोजना गर्ने वाचा गरेका छन् । उनले क्याम्पसमा हुने राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको विरुद्ध पनि खडा हुने प्रतिज्ञा गरे ।
अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसको स्ववियूको लागि निर्वाचनमा सभापति पदका लागि रोहित यादवका साथै सचिवमा आयुद अछामी र कोषाध्यक्षमा राजिव यादवलाई उम्मेदवार बनाएको छ । सदस्यहरूमा गौतम मण्डल, सुजित यादव, रत्ना राजवंशी, आयुष कार्की, युनिष पाण्डे, प्राश्रा श्रेष्ठ र भुमेश्वर साहले उम्मेदवारी दिएका छन् ।
पत्रकार सम्मेलनमा सचिव पदका उम्मेदवार आयुद्ध अछामीले विद्यार्थीहरूको योग्यता र क्षमता विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताएका थिए । कोषाध्यक्ष पदका उम्मेदवार राजिव यादवले स्ववियु कोषको पारदर्शी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।