विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तोडफोड गर्ने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का सभापतिसहित ६ जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ ।
सार्वजनिक बिदाको दिन बन्द रहेको स्ववियु निर्वाचन कार्यालयमा पुगेर प्लाष्टिकको कुर्सी र सूचना पार्टी तोडफोड गरी निर्वाचन कार्यालयको ताला ताडेर भित्र प्रवेश गर्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घटना दिउँसो २ः४५ बजेतिरको हो ।
तोडफोडलगत्तै पुगेको वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालयको टोलीले स्ववियु सभापति विराटनगर–१० का २८ वर्षीय जसवन्त पौडेल, स्ववियु सचिव विराटनगर–३ का २७ वर्षीय सनिम ठकुरी, स्ववियु सदस्यहरु विराटनगर–१२ का २८ वर्षीय प्रज्वल अधिकारी र २७ वर्षीय रोशनकुमार पासवान तथा क्याम्पसकै विद्यार्थीहरु विराटनगर–७ का २० वर्षीय नवीन तिवारी र १९ वर्षीय तिलक खड्कालाई पक्राउ गरेको हो ।
डीएसपी जोशीका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । ‘क्याम्पसको निर्वाचन कार्यालयमा तोडफोड गरेका कारण उनीहरुलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।‘
उनका अनुसार पक्राउ परेकालाई के कारबाही हुन्छ भन्ने यकिन भइसकेको छैन । पक्राउ परेकाहरु नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ (नेपाल विद्यार्थी संघ) आबद्धहरु हुन् । उनीहरु पार्टीको संस्थापन पक्षका हुन् ।
महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेविसंघमा विवाद छ । संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले क्याम्पसमा विरोध गर्दै आएको छ । इतर समूहले निर्वाचन समितिको कार्यालयमा ताला पनि लगाएको छ ।