विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन, निर्माण अवधीमै सम्पन्न गर्ने लक्ष्यसहित काम भईरहेको दावी गरिएको छ । तीनअर्ब १२ करोड रुपिँया लागतमा प्रतिघण्टा ५५० यात्रु बस्नसक्ने क्षमता भएको भवन २०८२ मंसिरमा सम्पन्न गर्ने लक्ष्य राखिएको हो ।
भूकम्प प्रतिरोधात्मक आठ हजार ५२५ वर्गमिटरको भवन निर्माण परिसर एक बिघा क्षेत्रफलको छ । कोशी÷डाँफे जेभी निर्माण कम्पनीले २०७९ फागुन १ गतेदेखि यसको काम सुरु गरेको हो । भवन निर्माणमा दैनिक २२५ कामदार परिचालन गरिएको दावी गरिएको छ । बिहान ७ बजदेखि राती १० बजेसम्म दुई सिफ्टमा निर्माण कार्य भईरहेको विमानस्थलको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सन्जिव खड्काले जानकारी दिनुभयो ।
नयाँ टर्मिनल भवनमा चेक इन काउन्टर १७ वटा, अति विशिष्ट कक्ष, बालउद्यान क्षेत्र, भिआइपी तथा पत्रका सम्मेलन कक्ष, भन्सार, अध्यागमन, भन्सार क्वारेन्टाइन, तथा व्यवसायिक प्रयोजनका विभिन्न क्षेत्र रहनेछन् । तीनतलाको भवनमा चार लिफ्ट र चारवटा स्काइलेटरको सेवा समेत रहने जानकारी दिइएको छ ।
निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर रमेश पौडेलले अत्याधुनिक प्रविधिको प्रयोग गरेर भवन निर्माणको काम भईरहेको जानकारी दिनुभयो । उहाँले निर्माण अवधी भित्रै कार्यसम्पन्न गरेर हस्तान्तरण गरिने दावी गर्नुभयो । भवन पूर्ण अपाङ्गतामैत्री हुने उहाँको भनाई छ ।
विराटनगर विमानस्थलका सू्चना अधिकारी युवराज पौडेलले बिहान ६ बजेदेखि राती १२ बजेसम्म विमानस्थलबाट उडाई सेवा सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल दैनिक दुईहजार यात्रुहरु आउने तथा जाने गर्दै आएको बताउनुभयो । विमानस्थलबाट हाल बुद्ध, यति र श्री एयरलायन्सले दैनिक काठमाण्डौं उडान भर्दै आएका छन् । त्यसमा बुद्धका नौ, यतिका छ र श्री एयरलायन्सका चारवटा उडान हुँदै आएका छन् ।
विमानस्थलले १२२ बिघा क्षेत्रफल चर्चेको छ । विं.स.२०२५ असार ९ गते विमानस्थल सञ्चालनमा आएको थियो । विराटनगरबाट केहि समय अगाडी पोखरा, भैरहवाका लागि समेत उडान सुरु गरिएको थियो । तर, अहिले त्यो बन्द रहेको छ ।
विमानस्थल कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष १७ करोड ५६ लाख राजस्व संकलन भएको थियो । सन् २०२४ मा तीनलाख २९ हजार ८९ यात्रुहरु विमानस्थल हुँदै प्रस्थान गरेका थिए । यसैगरी तीनलाख २९ हजार ९४९ यात्रु यो विमानस्थल हुँदै आगमन गरेका थिए । जसमा पाँच हजार ७५४ पटक विमान अवतरण र पाँच हजार ७५६ पटक विमान प्रस्थान गरेका थिए ।