विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आज (मंगलबार) भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै टीएफसी सेमिफाइलनमा पुगेको हो ।
जितको लागि टीएफसीका सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र निवस फुयलले गोल गरे । जितसँगै फाइनल यात्राको लागि टीएफसीले बिहीबार पहिलो सेमिफाइलन उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटसँग प्रतिस्पर्धा गर्नेछ । एकपक्षीय खेल पस्किएको टीएफसीले खेलअवधीभर कटिहारलाई पुरै दबावमा राखेको थियो । खेलको ३७ औं मिनेटमा टीएफसीका सनिस लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको टीएफसीले दोस्रो हाफपछि थप आक्रमक बन्यो । दोस्रो हाफपछि टीएफसीले थप तीन गोल गर्यो । ७४ औं मिनेटमा करण सुनवारले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो गोल गरेको तीन मिनेट बित्न नपाउँदै निश्चल लामाले ७७ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । खेलको अतिरिक्त समयमा निवस फुयलले गोल गर्दै टिमको जित सुनिश्चत गरे । खेलको प्लेयर अफ म्याच टिएफसीका कप्तान सविन घिमिरे घोषित भए ।
उनले नगद २ हजार १ सय रुपैयाँ पाए । बुधबारको खेल आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरिया विराटनगर र लेटाङ्ग फुटबल क्लब मोरङबीच हुनेछ ।