अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रुपमा घोषणा गरेको ‘ट्यारिफ’ नितीका कारण विश्वमा आर्थिक उथलपुथल जारी छ।
एसियाली बजार यो हप्ताको पहिलो दिनको सेयर कारोबारमा पनि ठुलो मात्रामा गिरावटको सामना गर्नु परेको छ।
एसियाली सेयर बजारमा प्रभाव पार्ने जापानको निक्केई २२५ सूचकांक ६.३% ले घटेको छ भने हङकङको ह्याङ सेङ्ग सूचकांक ९.८% ले ओरालो लागेको छ। साथै, हङकङमा सूचीबद्ध बेलायती बैंक एचएसबीसी र स्ट्यान्डर्ड चार्टर्डका सेयरहरू पनि तीव्र रूपमा ओरालो लागेका छन्।
यसअघि अमेरिकी सेयर बजारका फ्युचर्सहरूमा समेत तीव्र गिरावट देखिएको थियो, जसले वाल स्ट्रिट खुलेपछि सेयर मूल्यहरू घट्ने संकेत दिएको छ।
राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै भने ट्यारिफ नीतिको बचाउ गरे। उनले ‘कहिलेकाहीँ केहि ठीक पार्न औषधि खानै पर्छ।’ उनले थपे ‘रोजगारी र लगानी अमेरिका फर्किन थालेका छन् र छिट्टै विश्वले अमेरिकासँग खराब व्यवहार गर्न छाड्नेछ।’
ट्म्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा चीन, युरोपेली संघ र धेरै अन्य देशहरूसँग विशाल वित्तीय घाटाको समाधान बाहेक आफूसँग कुनै विकल्प नभएको उल्लेख गरेका छन्। उनले भने ‘यस समस्याको समाधान केवल ट्यारिफबाट नै सम्भव छ। यसबाट अमेरिकामा अर्बौं डलर आइरहेको छ।’ उनी अगाडि लेख्छन् ‘एक दिन मानिसहरूले बुझ्नेछन् कि अमेरिकाका लागि ट्यारिफ कति सुन्दर थियो भनेर।’