कोशी अस्पतालमा भवन निर्माण : डुबाएर भागे पार्टनर, एक करोड २४ लाख हर्जाना तिराएपछि साझेदारले बढाए काम

<span class='c1'>कोशी अस्पतालमा भवन निर्माण : डुबाएर भागे पार्टनर, एक</span> <span class='c2'>करोड २४ लाख हर्जाना तिराएपछि साझेदारले बढाए काम</span>

विराटनगर । कोशी अस्पतालमा दुई भवन निर्माणाधिन चरणमा छन् ।

एउटा साढे पाँच तला र अर्को भवन दश तलाको हुनेछन् । पहिलो भवन २०७८ असोजमा ठेक्का लागेको थियो । सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना अनुसार ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको रमण\भूमि\बिआइपीएल जेभीले लिएको थियो । यसको काम भने भूमि कन्ट्रक्सनले जिम्मा लिएको थियो । ठेक्का लिएर भाग्ने दाउमा रहेका भूमि इन्फ्रास्टक्चर्सका कृष्ण बोहरा भारत पलायन भए । उनी भागेपछि बैंकका झण्डै तीन अर्ब चानचुन डुबाएको चर्चा छ । उनी भागेपछि ऋण लगानी गर्ने बैंकका कर्मचारी समेत कारवाहीमा परेका थिए । त्यति मात्रै नभई भवन निर्माणमा साझेदारी रहेका अन्य दुई कन्ट्रक्सन समेत कारवाहीमा परेका छन् ।

ठेक्का लिएको एक वर्षसम्म लक्ष्य अनुसार काम नभएपछि निर्माण कम्पनी धरौटी जफत गर्नेदेखि हर्जाना असुल्नेसम्मको तागेताको चिठ्ठी पठाएपछि भूमिसँग जेभी रहेका रमण र बिआईपीएल काममा फर्केका छन् । काममा फर्केपनि उनीहरुलाई एक करोड २४ लाख हर्जाना तोकिएको थियो ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङले साढे पाँचतलाको अस्पताल भवन निर्माणमा लापरबाही गरेको भन्दै हर्जना गरेपछि उनीहरुले तिर्दैतिर्दै १५ लाखमा झारेका छन् । धरौटी जफत गरेर कालोसूचीमा राख्ने भनेपछि कामलाई समेत अगाडी बढाउँदै आएका छन् । सो कम्पनीले २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाइसँग सम्झौता गरेको थियो । २०८० पुस २२ गतेसम्म निर्माण सम्पन्न गरी साढे पाँच तलाको सुविधा सम्पन्न भवन हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ  । उक्त भवन निर्माणको लक्ष्य अहिलेसम्म ६० प्रतिशत पुरा भएको छ । यसको वित्तीय प्रगति ३५ प्रतिशत रहेको छ । कार्यालयबाट सम्बन्धित साइट हेर्दै आएका इन्जिनियर श्रवण यादवका अनुसार अब ढेड तलाको काम अझै बाँकी छ । यसको म्याद २०८२ कार्तिक ३० गतेसम्मलाई बढाइएको छ । यद्यपी यसले गर्नुपर्ने काम अहिलेको रफ्तारले मात्रै म्याद भित्र सम्पन्न हुनेमा आशंका छ । सुरु अवधी २०७८ असार २३ गतेदेखि यसको म्याद ३० महिनालाई तोकिएको थियो ।

रमन\ भुमी\ बि.आई. पि.एल. जे.भी.ले लिएको ठेक्का सम्झौतामा काम गरिरहेको भूमि इन्फ्रास्टक्चर्सका बोहरा भारत भागेपछि यो विषय अदालतसम्म प्रवेश पाएको थियो । अदालतले जिम्मा लिएकामध्ये थप दुईवटा निर्माण कम्पनीले काम गर्नुपर्ने आदेश गरेपछि ठेकेदार कम्पनीहरु फर्किएका हुन् । ‘ढिलो भएपनि काममा ठेकेदार कम्पनी फर्काएका छौं’संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख प्रदिप सिंहले भने–फकाउँदै कामका फर्कायौं, अहिले केहि आशावादी हुनुपर्ने स्थितिमा छौं ।

साढे पाँच तला भवनको पहिलोमा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइँतलामा पार्किङ, दोस्रो तलामा एचडियूसहितको डाइलोसिसलगायतका सेवाहरू हुनेछन् । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तला ५० शैय्याको हुनेछ । चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तला पनि ५० शैय्याको नै हुनेछ ।

यसै गरी दुई तला बेसमेन्ट पार्किङसहित केसी कन्सट्रक्सन फर्माले काम गरिरहेको दश तलाको मेडिकल भवनको काम समेत समयदेखि नै थाल्न नपाउँदा एक वर्ष ढिला भएको छ । मूल्य अभिवृद्धि कर बाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार रुपैयाँ लागत अनुमान गरिएको भवन २०७९ पुस १३ गतेदेखि निर्माण सुरु भएको थियो। तर, यो भवन निर्माणमा सुरुमा चिकित्सकहरुले क्वाटर भत्काउन रोकेका कारण ढिला भएको थियो । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख सिंहका अनुसार चिकित्सकहरुले क्वाटरको लोभ गरेका कारण पुरानो संरचना हटाउन ढिलाई भएको थियो । त्यहि भएर २०८२ पुस १२ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौताको म्यादलाई थपिने छ । अहिले दश तलाको भवनको जमिनमुनीको दुई तलाको बेसमेन्ट क्षेत्र आगामी जेठ १५ गतेसम्ममा सकिने लक्ष्य राखिएको छ । पानी पर्नु अगावै बेसमेन्ट सकाउनु पर्छ भनेर लागिरहेका छौं, सिंहले भने–निर्माण कम्पनी ठूलो भएका कारण यसले दुई सिफ्टमा काम गरिरहेको छ ।

भवनबाट रेडियोलोजी, ब्लड बैंक, ल्याब, फार्मेसी, जनरल स्टोर, एनआईसीयू, बच्चा वार्ड, पोस्टअप वार्ड, अर्थोपेडिक, मेडिकल, ट्रमा सर्जिकल, जनरल सर्जरी, आँखा, नाक, कान, घाँटी, डेन्टललगायतको सेवा उपलब्ध हुने छन् । भवनमा सेमिनार तथा बैठक कक्ष, ६ वटा लिफ्ट समेत रहनेछन् । हाल ३ सय ५० शय्याको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शय्या पु¥याउने तयारी गरिएको छ ।

फिल्डमा एआईसहितको सिसी क्यामरा
कोशी अस्पतालका दुईवटा भवन निर्माणस्थलमा एआईसहितको सिसी क्यामरा जडान गरिएको छ । कार्यस्थलको प्रत्यक्ष निरीक्षण विराटनगरस्थित कार्यालयदेखि विभागसम्मले हेर्न पाउने गरी निगरानी प्रविधि जडान गरिएको हो । दश तलाको भवन निर्माणमा अलिकति पनि कमजोरी नहोस् भन्नका लागि नियमन गर्ने कार्यालयहरुलाई निर्माणस्थलको अवलोकन गराउने गरिएको हो । त्यस बाहेक कार्यालयबाट दुई सिफ्टमा इन्जिनियरहरु साइटमा खटिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्