विराटनगर । शहीद मैदान विराटनगर राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत तत्कालिन पूर्वाञ्चल खेलकुद विकास हुँदै मोरङ जिल्ला खेलकुद विकास समिति स्वामित्वमा थियो । तर, त्यसको संरक्षण र आम्दानी समेत स्थानीय तह विराटनगर मातहतमा रहेको थियो । विराटनगर महानगरपालिकाको आफ्नो खेलकुद मैदानको रुपमा रहेको शहीद मैदान अब प्रदेश खेलकुद विकास बोर्ड मातहतमा फर्काइको हो ।
चालु आर्थिक वर्ष सुरु भएसँगै गत साउनदेखि विराटनगर महानगरपालिका मातहतको शहीद मैदानको स्वामित्व प्रदेश खेलकुद विकास बोर्डमा हस्तान्तरण गरिएको छ । महानगरपालिकाको आम्दानी भन्दा खर्च धेरै भईरहेको शहीद मैदानबाट बाहिरीन पाउँदा घाटा नहुने बुझाई छ ।
शहीद मैदानको बिद्युतको महशुल धेरै उठ्ने भएका कारण त्यहाँको आम्दानीले बुझाउन नपुग्ने महानगरपालिका राजस्व महाशाखा प्रमुख सरोज गौतम बताउँछन् । २२ वटा सटर भाडामा लगाइएको थियो । त्यसको मूल्य न्यून रहेको थियो । दुई हजार ५०० प्रति सटर भाडा लगाउँदा समेत कतिपयले नतिर्ने समस्या रहेको थियो ।
प्रदेश खेलकुद विकास बोर्डमा गएपछि त्यसको व्यवस्थापन र संरक्षण त्यसैले गर्नुपर्ने हुन्छ । खेलकुदका इभेन्ट हुँदा त्यसको प्रयोग हुनेछ । आठौं संस्करणको विराट गोल्डकप गत फागुन १९ गतेदेखि २८ गतेसम्म भएको थियो । त्यसको ठिक अघिल्लो राती शहीद मैदानमा प्रदेश खेलकुद विकास बोर्डले गराएको फुटबल प्रतियोगिता थियो ।
त्यसबेला आयोजक विराट गोल्डकपले आफ्नो गुनासो सार्वजानिक त गरेन तर भित्रभित्रै मन भने दुखाएको थियो । फाइनल खेलमा सहभागी टिमका कप्तानले मैदान बारे दिएको प्रतिक्रिया फरक थियो । उनीहरुले यस अगाडी खेलभन्दा चालु सिजनको विराट गोल्डकपको खेल खेल्न मैदान राम्रो छैन भन्ने भनाई राखेका थिए । त्यसमा विराट गोल्डकप आयोजकले मौन चित्त दुखाउनु बाहेन केहि भनेन । यो अवस्था विराटनगर महानगर मातहत नै शहीद मैदानको स्वामित्व हुँदा नहुने उनीहरुको भनाई थियो ।
विराटनगर महानगरपालिकाले सेतो हात्तीको संज्ञा दिएको शहीद मैदान प्रदेश मातहत गएपछि त्यसको असर कुनै न कुनै कारणले महानगरपालिकालाई पर्ने देखिन्छ । महानगरपालिकाले गर्ने खेलकुद इभेन्ट कहाँ गर्ने ? भन्ने प्रश्न कहिले न कहिले आउन सक्छ ।
तर, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भने शहीद मैदान प्रदेश मातहत जाँदा पनि महानगरपालिकास्तरीय खेलकुद प्रतियोगिता गर्न असजिलो नपर्ने बताउँछन् । उनले सहजीकरणमा मैदान प्रयोग गर्न सकिने बताए । उनले खेलकुद प्रतियोगिता आयोजना गर्दा सेड्युल मिलाउनुपर्ने बाहेक झन्झट नहुने बताएका छन् ।
महानगरपालिकाले विकल्पको रुपमा हाटखोला खेल मैदानको स्तरोन्नती गरिरहेको छ । प्रमुख कोइरालाले खेलकुदसँगै कुनै भवितव्य पर्दा त्यसलाई प्रयोग गर्न सकिने गरि स्तरोन्नती गरिरहेको बताए । उनको आशय महानगरपालिकाको आफ्नो खेलमैदान पनि अब त्यहि हो ।
विराटनगर महानगरपालिका खेलकुद शाखाका प्रमुख सुशील दाहालका अनुसार चालु आर्थिक वर्षमा मेयर कप फुटबल टुर्नामेन्ट आयोजनाका लागि आठ लाख रुपैँया रकम बिनियोजन गरिएको छ । तर, बिद्यालयमा भएको शैक्षिक हड्तालले अहिले असजिलो पारिरहेको छ । उनले स्थानीय तहको आफ्नै खेलमैदान भनेर अहिलेसम्म कुनैपनि स्थानलाई नतोको बताए । तर, प्रत्येक स्थानीय तहमा एक खेल मैदान बनाउने प्रदेश सरकारको योजना महानगरपालिका भित्रै भने अलमलमा देखिन्छ ।
विराटनगर १९ स्थित गिरीजाप्रसाद क्रिकेट रंगशाला राष्ट्रिय गौरवको योजनाको रुपमा स्तरोन्नती गर्ने तयारी छ । यद्यपी अहिलेसम्म निर्माणको योजना बाहेक काम अगाडी बढेको छैन । बैजनाथपुरको यो रंगशाला क्रिकेटसँगै अन्य खेल इभेन्ट गर्ने स्तरमा विकास हुने भएकोले महानगरपालिकाले यसैलाई आसा राखेको छ । प्रमुख कोइरालाले शहीद मैदानमा खेलकुद गराउन असजिलो भए बैजनाथपुरको रंगशाला प्रयोग गर्ने विकल्प खुल्ला रहने बताए ।