विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयको आयोजना एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा लागुपदार्थ दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रशिक्षण तालिम आज उद्घाटन भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त तालिम वैशाख १५ देखि १७ गतेसम्म संचालन हुनेछ। कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भिमबहादुर दाहाल, राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी, नवल प्रसाद उपाध्याय, प्रदेश कार्यसमिति पदाधिकारीजहरु र स्थानीय प्रमुख आयुक्तहरुको उपस्थिति रहेको थियो।

प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त सिवानी देवानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। तालिममा विभिन्न २३ वटा स्थानीय तहका ५० जना स्काउट लिडर, रोभर/रेन्जरहरुको सहभागिता रहेको छ।


प्रदेश प्रहरी कार्यालयका विषय विशेषज्ञहरु र सम्बन्धित विषय विशेषज्ञहरुले तालिम प्रदान गर्नेछन्। तालिम पश्चात् प्रशिक्षकहरुले स्थानीय तहका विभिन्न वडाहरुमा समुदाय स्तरमा सचेतना कार्यक्रम संचालन गरी लागुपदार्थ दुर्व्यसनी मुक्त वडा अभियानका लागि आवश्यक कदममा सहयोग गर्नेछन्।