विराटनगर । विराटनगरमा लैंगिक हिंसा निवारण सम्बन्धी महिला पत्रकारहरूलाई खोज पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ।
"लैंगिक हिंसा निवारण सम्बन्धी पत्रकार महिलाहरूलाई खोज पत्रकारिता तालिम" शीर्षकको यो कार्यक्रम २०८२ वैशाख १३ गतेदेखि १७ गतेसम्म संचालन भएको थियो। यो तालिम नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिको आयोजनामा र कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजना गरिएको थियो।
पाँच दिने यस तालिमले महिला पत्रकारहरूलाई लैंगिक हिंसासँग सम्बन्धित मुद्दाहरूमा रिपोर्टिङ गर्ने सीप बढाउने लक्ष्य राखेको थियो। यसले उनीहरूलाई यस्ता संवेदनशील विषयहरूलाई प्रभावकारी ढंगले समेट्न अनुसन्धानात्मक प्रविधिहरू र नैतिक रिपोर्टिङ ढाँचाहरू प्रदान गरेको छ। साथै तालिमको अन्तिम दिन बुधवार एआई सम्बन्धी समेत तालिम दिइएको थियो।
तालिमको समापनमा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको उपस्थिति रहेको थियो। कार्यक्रम समापनमा तालिममा सहभागी महिला पत्रकारहरुले तालिममा सिकेका कुरा उपलब्धिमूलक भएको बताएका छन्।
खोटाङबाट तालिममा सहभागी भएकी सरस्वती बानियाले यस किसिमको तालिमले खोज पत्रकारीतामा सहज हुने बताइन्। उनले यस्तै तालिममा सहभागी हुने अवसरमा यसरी नै महिला पत्रकारहरुलाई प्राथमिकतामा राखे भोलिको दिनमा पत्रकारीताको क्षेत्रमा महिलाको सहभागिता बढ्दै जाने बताइन्।
५ दिनको अवधिमा पत्रकारीतामा लामो समय बिताएका विभिन्न प्रशिक्षकहरुले तालिम दिएका हुन्। तालिममा कोशी प्रदेशका ३० महिला सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।
तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष शिव गाउँले, नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्षहरु यज्ञ शर्मा, विक्रम निरौला, बन्धु पोखरेल, पत्रकार लीलाराज भट्टराई, सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले गरेको महासंघ कोशी प्रदेश महासचिव हिमा चेम्जुङले जानकारी दिइन्।