इन्दु साह
विराटनगर । शिक्षक आन्दोलनका कारण बन्द भएका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन् ।
विराटनगर महानगर क्षेत्रका विद्यालयहरूमा समेत नियमित पठनपाठन सुरु भएको छ । आजदेखि सबै सामुदायिक विद्यालयहरू नियमित रुपमा सञ्चालनमा आएको विराटनगर महानगरका शिक्षा महाशाखा प्रमुख राम ढुंगेलले बताए। विद्यालय खुलेसँगै सुनसान देखिएका विद्यालयहरूमा विद्यार्थीहरूको चहलपहल बढेको छ। शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं गएका विराटनगरका शिक्षकहरू पनि सहमतिपछि फर्किएका छन्। आन्दोलनका कारण रोकिएको विद्यार्थी भर्ना अभियान पुनः सुरु गरिएको छ । विराटनगरको पोखरीया माध्यमिक विद्यालयले कक्षा १ देखि ९ सम्म प्राविधिक धार बाहेकका कक्षाहरूको प्रवेश परीक्षा सम्पन्न गरेको छ। कक्षा ९ को प्राविधिक धार तर्फको प्रवेश परीक्षा भने वैशाख २० गते शनिबार हुने विद्यालयले जनाएको छ।
त्यस्तै आदर्श माध्यमिक विद्यालयले विद्यार्थी भर्नाको लागि फारम बुझाउने अन्तिम म्याद वैशाख २१ गतेसम्म तोकेको छ। विद्यालयका प्राचार्य सन्तोष पोखरेलका अनुसार कक्षा ४ देखि ९ सम्मको प्रवेश परीक्षा वैशाख २२ गते हुनेछ। नेपाल शिक्षक महासंघले करिब एक महिनासम्म काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो। आन्दोलनका कारण एसईई उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा तयारी र भर्ना अभियान समेत प्रभावित भएको थियो। कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारीको काम चलिरहेको र शनिबारसम्म सबै काम सम्पन्न हुने जनाएको छ । शिक्षकको आन्दोलनका कारण यही वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा सरेको थियो ।
विराटनगर महानगरपालिकाका क्यालेन्डर अनुसार महानगर क्षेत्रमा ७५ सामुदायिक विद्यालय रहेका छन्।