इस्लामाबाद । कश्मीरको विवादित क्षेत्रमा भएको घातक आक्रमणपछिको बढ्दो तनावका बीच पाकिस्तान सेनाले शनिबार मिसाइल प्रक्षेपण गरेको जनाएको छ।
भारत–प्रशासित कश्मीरको पहलगाममा गत महिना भएको पर्यटकमाथिको आक्रमणको आरोप भारतले पाकिस्तानमाथि लगाएको छ, जसपछिको अवस्थाले दुई आणविक शक्ति राष्ट्रबीच पुनः तनाव बढाएको छ।
पाकिस्तान सेनाले दिएको विज्ञप्तिमा 'अब्दाली वेपन सिस्टम' को सफल प्रशिक्षण प्रक्षेपण गरिएको जानकारी दिइएको छ। यो मिसाइल प्रणालीले ४५० किलोमिटर (२७९ माइल) सम्मको दूरीमा प्रहार गर्न सक्ने क्षमता राख्दछ।
"यो प्रक्षेपण सेनाको कार्यसञ्चालन क्षमताको परीक्षण तथा मिसाइलको प्रविधीय पक्ष—विशेषगरी अगाडि बढाइएको नेभिगेसन प्रणाली र सुधारिएको फुर्तिलोपन—को मूल्याङ्कन गर्न गरिएको हो," पाकिस्तान सेनाले बताएको छ।
तर प्रक्षेपण कुन स्थानमा गरिएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन।
उक्त परीक्षण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणमा कारबाही गर्न सेनालाई 'पूर्ण स्वतन्त्रता' दिएको घोषणा पछिको समयमै भएको हो। सो आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू तीर्थयात्री थिए।
पाकिस्तानले आक्रमणमा संलग्नता अस्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ। यसै साता पाकिस्तानले भारतबाट सम्भावित हवाई आक्रमणको चेतावनी दिएको थियो र कुनैपनि आक्रामक गतिविधिमा बलपूर्वक प्रतिकार गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
कश्मीरको विषयमा बारम्बार युद्धमा होमिएका भारत र पाकिस्तानमाथि अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न दबाब दिएको छ। चीनले संयमता अपनाउन आग्रह गरेको छ भने युरोपेली संघले पछिल्लो अवस्था 'गम्भीर र चिन्ताजनक' भएको जनाएको छ।
अमेरिकाका उपराष्ट्रपति जे.डी. भ्यान्सले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भारतलाई 'क्षेत्रीय द्वन्द्वमा परिणत नहुने' किसिमले प्रतिक्रिया जनाउन आग्रह गर्नुभयो। साथै, पाकिस्तानलाई “आफ्नो भूमिमा सक्रिय आतङ्ककारीहरूको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न” अनुरोध गरेका छन्।
'विश्वलाई सन्देश'
पाकिस्तानी विश्लेषकहरूले उक्त मिसाइल प्रक्षेपणलाई चेतावनीको रूपमा व्याख्या गरेका छन्। "यसले पाकिस्तानसँग भारतलाई प्रत्युत्तर दिने स्रोत र क्षमता छ भन्ने देखाउँछ। यो केवल भारतका लागि मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि सन्देश हो कि हामी तयारी अवस्थामा छौं," सैन्य विश्लेषक हसन अस्करी रिजवीले एएफपीसँग भन्नुभयो।
शुक्रबार पाकिस्तानी सेनाध्यक्ष जनरल सैयद आसिम मुनिरले उच्च सैन्य कमान्डहरूसँग हालको भारत–पाकिस्तान तनावबारे छलफल गरेका थिए। बैठकमा उहाँले सबै सीमाक्षेत्रहरूमा सजगता र तयारी बढाउन जोड दिनुभएको थियो।
कश्मीरको पछिल्लो हिंसा—वर्षौँपछि नागरिकमाथिको सबैभन्दा घातक आक्रमण—पछिका दिनहरूमा भारत र पाकिस्तानबीच कूटनीतिक आरोप–प्रत्यारोप, राजदूत निष्कासन र सीमा बन्द गर्ने कदमहरू चालिएको छ।
भारतीय रक्षा स्रोतहरू अनुसार, दुबै देशले नियन्त्रण रेखा (एलओसी) मा नौ रातदेखि लगातार गोलीबारी गरिरहेका छन्।
करीब १.५ करोड जनसंख्या रहेको मुस्लिमबहुल कश्मीर क्षेत्र पाकिस्तान र भारतबीच बाँडिएको छ तर दुवै देशले यसलाई आफ्नो क्षेत्र भनेर दाबी गर्दै आएका छन्।
भारत–प्रशासित कश्मीरमा सन् १९८९ देखि चलेको विद्रोहले स्वतन्त्रता वा पाकिस्तानसँग मिल्ने माग राख्दै आएको छ। भारतले यस्ता गतिविधिमा पाकिस्तानको समर्थन रहेको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले उक्त आरोप अस्वीकार गर्दै कश्मीरको आत्मनिर्णयको अधिकारलाई मात्र समर्थन गर्ने र त्यहाँ भइरहेका मानव अधिकार उल्लंघनहरूको विरोध गर्ने बताउँदै आएको छ। रासस/एएफपी