-चन्द्र पौडेल
बेलबारी । मोरङको बेलबारी नगरपालिका भित्र रहेका विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। चाइना फाउण्डेसन फर रूलर डेभलपमेन्टको सहयोगमा न्यु लाईट फाउण्डेसन तथा एकीकृत हातेमालो समाजको समन्वयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो।
पठनपाठनमा टेवा पुग्ने उद्देश्यले झोला वितरण गरिएको एकीकृत हातेमालो समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम गिरीले जानकारी दिए। ‘गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो। त्यो बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको छ। अब यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास छ,’ झोला वितरण गर्दै अध्यक्ष गिरीले भने।
बेलबारी नगरपालिका अन्तर्गत रहेका श्री किसान आधाभूत विद्यालय, श्री रामजानकी आधाभूत विद्यालय, श्री देवकोटा आधारभूत विद्यालय, श्री रणपाल विद्यालय, श्री एकता आधारभूत विद्यालय, श्री महेन्द्र आधारभूत विद्यालयमा अध्ययनरत ७ सय ७९ बालबालिकालाई शैक्षिक सामग्री सहित झोला वितरण गरिएको न्यु लाईट फाउण्डेसनका प्रबन्धक आसिफ हसनले जानकारी दिए। हातमा कपिकिताब बोकेर आएका विद्यार्थीहरु झोलामा राखेर घर फर्किएपछि आफूलाई खुशीको अनुभूती भएको उनले उल्लेख गरे।
झोला पाएपछि विद्यार्थीहरु पठनपाठन तर्फ थप आकर्षित हुने विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर अधिकारीको विश्वास छ। झोला वितरण गर्ने कार्यमा सहयोग तथा समन्वय गर्ने संघसंस्थाप्रति उनले आभार प्रकट गरे।
झोला वितरण गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुखाराम भगत, बेलबारी नगरपालिका उपप्रमुख नितु थापा कोइराला वडा अध्यक्ष डिल्ली बहादुर कटुवाल लगायत स्थानीय प्रतिनिधि, अभिभावकको उपस्थिती रहेको थियो।