-दीपा शाही रावत
गन्तव्यको दौडमा छु म
निरन्तर यात्राको
तिमीले देखाएकाे
जीवन यात्राको बाटोमा
तिमी भने,
अगाडिको विराट पर्खाल पार गरेर
एकादेशकाे उज्यालो बनेर
अस्ताइसकेकी छ्यौ
कथा कहानी जसरी
गन्न थालेकि छु
आज १६औ वसन्त
कालाे बादलजस्तै
छातीभरी
ओढिएकाे छ मेराे मनमाथि।
आमा
तिमीले दिएकाे
त्याे अन्तिम नजर
अझै जलिरहेछ मुटुकाे भित्र कतै
बलेर औसी दीपमा।
तिमी नै बाेलिरहेकी जस्ताे लाग्छ
हरेक शान्त रातमा
अनि पीडाले मुटु दुखेको बखतमा
तिमीले छाेडेकाे कुचाे
अझै झुण्डिएकाे छ ओतलाकाे
ढाेकामा
तिम्राे हातकाे पुछार अझै
घाम लाग्दा झल्किन्छ
सपनामा।
तिमी बिनाकाे चिया
अझै बेस्वाद लाग्छ
तिमीले माया साथ पकाएकाे पकवान
सम्झँदा नुनझैँ घाेच्छ
आँखा रसाउँछ
बिकराल कालो बादल
मडारिन्छ मनभरी
तिमीभित्र बाँच्दै छु म
तिमीले सँगसँगै दिएकाे संस्कार
अझै पवित्र गहना जस्ताे भिरेकाे छु।
मेरा सन्तानहरूलाई हेर्दा
तिमी मुस्काएकाे देख्छु मभित्रै
कतै आकाशमा हेरिरहन्छु
शायद तिमी त्यहीँबाट
मेरा कठिन पाइलामा
फूल ओछ्याइरहेकी हाै।
आमा तिमी गएकाे छैनाै
तिमी रूप बदलेर मेराे
छायाँ भएकी छाै
मेराे सासमा गीत बनि बगिरहेकी छाै
तैपनि आमा भावपूर्ण श्रद्धाञ्जली
भन्नै पर्ने
आमा तिमी अमर छौ
मेरो हृदयको स्वर्गको दीपशिखा हौ।