विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा धार्मिक राधाकृष्ण रथ यात्रा आयोजना हुने गरेको छ । १९८८ सालदेखि खटयात्राको रुपमा प्रारम्भ भएको धार्मिक उत्सव, २०२५ यता रथयात्राको रुपमा नेपलाको सबैभन्दा ठूलो र कोशी प्रदेशको मुख्य साँस्कृतिक आयोजना मानिन्छ ।
रथयात्रा सुरु भएको ५७ वर्ष पुगेको छ । खट यात्रासहित यसको महत्व एकसय वर्ष पुरानो हुन लागेको छ । विराटनगरमको तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट भगवान राधाकृष्णको प्रतिमालाई रथमा विराजमान गराएर नगरभरी यात्रा परिक्रमा गराउँने चलन रहँदै आएको छ ।
यसवर्ष राधाकृष्ण रथयात्रा आगामी भदौ १ गते पर्नेछ । साउन ३१ गते कृष्णजन्माष्टमी पर्दछ । आगामी भदौ १ गते विराटनगरवासीले रथलाई नयाँ स्वरुपमा देख्न पाउने गरी अहिले निर्माणको काम भईरहेको छ ।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार २०२५ सालमा निर्माण भएको रथ ५७ वर्षपछि भत्काएर नयाँ निर्माण थालिएको हो । जसका लागि विराटनगर महानगरपालिकाले ४४ लाख ७८ रुपैँया बजेट उपलब्ध गराएको हो ।
नयाँ बनिरहेको रथ प्यागोडा शैलीको २१ फिट अग्लो, १४ फिट चौडा र १९ फिट लामो हुनेछ । यो जुवा बाहेकको डायसको क्षेत्रफल हुनेछ । १४÷१९ वर्गफुटको डायसमा ९ फिट चौडा र १० फिट उचाईको कोठा बन्नेछन् । जुन मन्दिरको स्वरुपमा हुनेछ र त्यसभित्र भगवान राधाकृष्णको प्रतिमालाई बिराजमान गराइने छ । यस अगाडी भगवान रहने क्षेत्र ४÷४ को मात्रै थियो ।
अध्यक्ष रेग्मीका अनुसार दक्षिण एशियामै दोस्रो ठूलो मानिने रथयात्रा अवलोकनमा आउने श्रद्धालुले भगवानलाई हेर्न नपाएको गुनासो गरेका कारण नयाँ रथ निर्माण गर्नु परेको हो । नयाँ निर्माण गरिएको रथमा सबैले भगवानलाई सडकबाटै देखेर दर्शन गर्न पाउने छन् ।
रथको डायस (बेस) भाग दुई हजार केजी फलामबाट निर्माण गरिएको छ । जसमा भित्रबाटै माथि जानसक्ने सिँढी राखिएको छ । रथलाई रोक्न अगाडी पट्टी नै हाइड्रोलिक ब्रेक राखिएको छ । यस अगाडी ब्रेक पछाडी रहेको थियो । रथका मुख्य सारथीले सावधान नभन्दासम्म ब्रेक हान्नका लागि अगाडीको परिस्थिति देखिदैन थियो । त्यसैले कहिले काँहि असहज हुने गरेको थियो । अगाडी नै ब्रेक राखेपछि त्यसलाई नियन्त्रण गर्ने व्यक्तिले सडकको अवस्था प्रत्यक्ष देख्न पाउनेछन् ।
डायसमा चारवटा पिलर राख्ने फर्मा बनाइएको छ । डायसको सबै भाग फलामबाट निर्मित रहेको छ । यसको लागत १२ लाख रुपैँया परेको अध्यक्ष रेग्मी सुनाउँछन् । यसमा चारवटा काठको पिलर रहनेछन् । झण्डै ९ क्यूफिट काठको एउटा पिलर रहेको छ । पिलरका लागि एकसय वर्ष पुरानो सखुवा र सिसौ प्रयोग गरिएको छ । रथ निर्माणका लागि २०० क्यूफिट काठको जोहो गरिएको छ । जसम एकसय क्यूफिट वन कार्यालयबाट र एकसय क्यूफिट निजी जग्गामा भएको रुख ढालेर रथका लागि खरिद गरिएको हो ।
फलामका डायसमा काठका चारवटा पिलर खडा हुनेछन् । त्यसमा मन्दिर आकारको संरचना तयार हुनेछ । तीनस्तर छाना भन्दा माथि गजुरको भाग रहनेछ । छानाको सबैभन्दा तल्लो स्तर अलिक चौडा, त्यसमाथि केहि सानो अनि अझै सानो स्तर रहनेछ । सबैभन्दा तल्लो स्तर छाना भन्दा तल काठको पट्टी चारैतिर लाग्नेछ । जसमा कलात्मक बुट्टा कुद्ने काम भईरहेको छ ।
अध्यक्ष रेग्मीका अनुसार गत बैशाख २१ गते आयोजना सम्झौता भएपछि जेठ १० गतेदेखि लगातार पीलर तथा पट्टीहरुमा बुँदा कुद्ने कार्य जारी छ । धेरै ठूलो रुखको काठ भएका कारण त्यसलाई कँदेर बुट्टा निकाल्ने कुरा सहज नभएको बुट्टाकर्मी सशिलकुमार सरदार बताउँछन् ।
आगामी राधाकृष्ण रथयात्रा निकाल्नका लागि यसको तयारी गरिसक्नुपर्ने भएकोले अहिले दिउँसो मात्रै नभई राती समेत काम हुँदै आएको छ । डायससहित यसमाथि निर्माण हुने संरचनाको वजन झण्डै चार हजार केजी हुने अनुमान गरिएको छ । रथ तान्नका लागि अगाडी दुईवटा लठ्ठा बाँध्ने ठाउँ राखिएको छ । यसका चक्का फलामकै रहेका कारण गुडाउन सहज हुने दावी छ । अध्यक्ष रेग्मीका अनुसार यसमा व्यक्तिगत चन्दा माग गरिएको छैन । यो विराटनगर महानगरपालिकाको साझा पर्व भएको हुनाले स्थानीय सरकारको लगानीमा निर्माण गरेर सबै नागरिकको अपनत्व जोड्न खोजिएको हो ।
अध्यक्ष रेग्मीले यो वर्ष नयाँ बनेको रथको धेरै साजसज्जा गरिने छैन । नयाँ संरचना निर्माण गर्दा कस्ता सामाग्रीहरु प्रयोग भएका छन् भन्ने कुरा रथयात्राका दिन सबै नगरवासीले हेर्न पाउने गरी साजसज्जा कम गरिने भएको हो ।
विराटनगर–१ तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथ मेनरोड हुँदै रोडशेष चौक, त्यसपछि धरानरोडबाट महेन्द्रचौक, वरगाछी हुँदैे नौ किलो मिटरको रुटमा घुमाउने गरिएको छ । महेन्द्रचौक–ट्राफिक चौकको सडकमा सौन्दर्यकरणका लागि भन्दै स्थायी संरचना बनेपछि यसलाई ट्राफिकचौकबाट रोडशेष चौकतर्फ बढाउन थालिएको हो ।
सुरुमा आठ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ५ लाख बढी भक्तजन सहभागी हुन थालेका छन् । अध्यक्ष रेग्मीले सुरुमा विराटनगरका उत्तरीतर्फका मात्रै नागरिक संलग्न हुने रथयात्रामा विस्तारै नगरवासी, जिल्लावासी, देशवासी हुँदै भारतका समेत धर्मानुरागी सहभागि हुन थालेको सुनाउँछन् । उनले आवश्यकताका आधारमा नयाँ रथ निर्माण गर्नुपर्ने स्थिति आएको सुनाउँदै भने–यसलाई प्रदेश सरकारले समेत प्राथमिकतामा राखेर सार्वजानिक विदा दिने चलन सुरु गरेको छ । कोशी प्रदेश सरकारले रथयात्राको दिन तीनवटा जिल्लामा सार्वजानिक विदा दिन थालेको छ ।
नयाँ रथ निर्माणसँगै पुरानो रथको पहिचान मेटिने चिन्ता समेत गरिएको छ । तर, नयाँ रथ निर्माण सुरु हुनुभन्दा अगाडी नै पुरानो रथको सानो मेटल संरचना तयार पारिएको छ । जुन नयाँ निर्माणका लागि गाइडलाइनका लागि राखिएको छ । अध्यक्ष रेग्मीले पुरानोको पहिचान मासिन नदिने गरी नयाँ निर्माण हुने जानकारी दिएका छन् । उनका अनुसार पुरानो रथ पूर्ण रुपमा भत्काइएको छ । त्यसमा लागेका वस्तुहरु के गर्ने भन्ने विषयमा स्थानीय सरकारसँग परामर्श गरिने छ । यसका सामान संरक्षण गरेर राख्ने की लिलाम बिक्री गर्ने भन्ने यकिन भईसकेको छैन ।