विराटनगर । तराईको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर सडकको निर्माण तथा विस्तारमा अलमल वर्षहरु थपिदैछन् । राष्ट्रिय गौरवको आयोजना, हुलाकी राजमार्ग निर्माण सुस्तताले स्थानीय भने पिरोलिने थालेका हुन् ।
विराटनगर महानगरपालिका–८ को हाटखोलादेखि कटहरी गाउँपालिकाको रामचोकसम्म ६ किलोटिमर सडक वर्षातसँगै हिलोमा गिजोलिन्छ । मंसिरदेखि जेठभर धुलोको पीर दिएको सडक वर्षातसँगै हिलोमा परिणत हुन थालेको हो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार ठेकेदार नै जर्बर हुँदा यसको निर्माणले गति लिन नसकेको हो । अर्को पक्ष भनेको राष्ट्रिय गौरवको आयोजनामा स्रोतको अभाव देखाउँदै सम्बन्धित कार्यालय ठेकेदारप्रति नरम हुँदा सर्वसाधारणका लागि सास्ती भोग्नुपर्ने बाध्यता सहनु परेको अध्यक्ष चौधरीको बुझाई छ ।
मोरङको ४४ किलोमिटर दुरीमध्ये हाटखोला–नयाँबजारको छ किलोमिटरमा २०७६ सालदेखि श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रा.ली. जिम्मेवार छ । तर, यसको पाँचवर्षसम्मको प्रगती २२ प्रतिशत मात्रै भएको छ ।
पुरानो कालोपत्रे सडकको दाँयाबाँया विस्तारसँगै भत्काइएको छ । सडकको दायँबाँया माटोले पुरिएको भागमा सवारी गुडाउन जोखिम छ । सडक विस्तारपछि बिद्युतका पोल बीच भागमा ठिङ्ग छन् । जताततै लत्रिएको तारले कुन बेला दुर्घटना हुन्छ भन्ने कुनै यकिन छैन ।
ठेकेदारले भद्रगोल अवस्थामा सडक छाडेको भन्दै बारम्बार स्थानीय तहले कुरा उठाउँदै आएको छ । तर, सम्झौता गरेका मुख्य ठेकेदार सम्पर्कमा कहिल्यै आउने गरेका छैनन् ।
२०७६ सालमा दुई वर्ष भित्र काम सक्ने भन्दै ठेक्का लिएको श्रेष्ठ कन्ट्रक्सनले ६ किलोमिटर छिचोल्न विभिन्न पेटी ठेक्का लगाउँदै आएको छ । अहिले दुवैतर्फ साइड ड्रेन निर्माण भएको छ । पेटी ठेकेदार समेत बारम्बार परिवर्तन हुने गरेका छन् । केहि समय अगाडीसम्म भुपाल श्रेष्ठमार्फत निर्माण भईरहेकोमा अहिले अभिषेक गिरीमार्फत काम लगाउने गरिएको छ ।
यतिसम्मकी ठेकेदारकै जिम्मेवारीमा रहेको बिद्युतका पोल समेत पाँचवर्षसम्म बिद्युत प्राधिकरणलाई देखाएर सारिएको छैन । तर, सडक ठेक्का व्यवस्थापन गर्दा नै पोल स्थान्तरणका लागि रकम सुनिश्चित गरिएको थियो ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले सम्झौता अनुसार ठेकेदारले काम नगरेरै हैरान पारेको हो । उहाँले काम नभएपछि भुक्तानी दिन पनि ढिलो हुँदै आएको र पछिल्लो समय भुक्तानीमा पनि समस्या हुन थालेको बताउनुभयो ।
ठेक्का २०७६ साल कात्तिकमा सम्झौता भएपनि बिद्युतको पोल अहिलेसम्म सारिएको छैन । योजना प्रमुख पोखरेलका अनुसार अहिले भर्खरै मात्रै बिद्युत प्राधिकरणले ३ करोड ६६ लाखको लागत अनुमान दिएको छ । सडक ठेक्का लगाउँने समयमा २ करोड ५० लाख रुपिँया बिद्युतका पोल तथा खानेपानी पाइपका लागि रकम व्यवस्थापन भएको थियो । तर, पाँचवर्षसम्म उक्त रकमबाट काम नहुँदा अहिले एक करोड बढी लागत बढ्न गएको छ । पोल सार्ने काम निर्माणको जिम्मा लिने ठेकेदारले आफैं वा प्राधिकरणमार्फत गराउनुपर्ने हुन्छ । यदि ठेकेदार आफैंले पोल सार्न चाहेमा प्राधिकरणसँगको समन्वय र लाग्ने महशुल बुझाउनुपर्ने हुन्छ । तर, समयमै काम नगर्दा छ किलोमिटर दुरी सडकसँगै बिद्युतका पोलले अझै भद्रगोलमा रुपान्तरण गरिदिएको छ ।
यस बाहेक मोरङमा निर्माण हुनुपर्ने ४४ किलोमिटर दुरीमध्ये धनपालथानको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको १२ किलोमिटरको काम अन्तिम चरणमा पुगेको छ । त्यसपछि रंगेली, सुनवर्षी, रतुवामाई नगरपालिका क्षेत्रको सडक खण्डको काम सकिएको पोखरेलले जानकारी दिनुभयो । विराटनगर बरगाछीदेखि केसलीया खोलासम्म साढे तीन किलोटिमर सडक पनि कालोपत्रे भएको छ ।
मुख्य राजमार्ग बाहेक सहायक मार्गको रुपमा विस्तार हुनुर्पे मोरङको पथरीदेखि रंगेलीसम्मको २५ किलोमिटर सहायक मार्गको काम पनि सुस्त नै रहेको छ । निर्माणको ठेक्का दुई वटा प्याकेजमा कान्छाराम कन्ट्रक्सनले लिइएको थियो । यो खण्डको ठेक्का पनि २०७६ साल कात्तिकमा भएको थियो । हालसम्म २२ प्रतिशत मात्रै प्रगति भएको उल्लेख छ ।